धानुक र सिंह पनि आइजिपीका दाबेदार, को बन्ला नयाँ प्रहरी प्रमुख?

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ५ : २३


नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन्। डिआइजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन्। यीसँगै नेपाल प्रहरीमा ९ जना एआईजी भएका छन्।

ती मध्ये आठ जना जनपदतर्फका छन्। भने एक जना प्राविधिकतर्फका छन्। तीनै आठ जनामध्येबाट भावी प्रहरी प्रमुख नियुक्त गरिनेछ। आठ जनामध्ये चार जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ।

अब एआइजिपीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै आजबाट थपिएका सिंह र धानुकबीच प्रतिस्पर्धा हुनेछ। चारै जना एआईजीहरू एउटै ब्याची हुन्। चारै जना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

पन्त भने वर्तमान आइजिपी शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउँदैछन्। जसले गर्दा उनी आइजिपीको दौडबाट बाहिरिनेछन्। आइजी क्षेत्रीका ब्याची एआईजीहरू हरि बहादुर पाल, प्रद्युम्न कार्की र नीरज शाही पनि १९ वैशाखदेखि अवकाश पाउँदैछन्।

सरकारले गत ५ फागुनमा नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू निकट मानिएका सिंह र धानुकलाई आइजिपीको प्रतिस्पर्धामा ल्याउन दरबन्दी थप गरेको आरोप लाग्ने गरेको छ।

अब नयाँ प्रहरी प्रमुख को बन्ने भन्ने सरकारको हातमा छ। प्रहरी प्रमुख नियुक्त गर्दा वरीयताक्रम तथा कार्य सम्पादन मूल्यांकन हेरेर गर्नुपर्ने हुन्छ । तर, सरकारले आफू अनुकूलका प्रहरी अधिकृतलाई नियुक्त गर्दै आएको छ।

अब चार जनामध्ये कसले नेपाल प्रहरीको २९औं प्रहरी प्रमुखको जिम्मेवारी पाउनेछन्? यो आम चासोको विषय छ। प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा थिए। त्यो बेला धिरजप्रताप सिंह ब्याचको पहिलो नम्बरमा थिए। तर, एसएसपी बढुवादेखि पोखरेल पहिलो नम्बरमा आए।

हालका आइजी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पारे। सडक दुर्घटनामा डिआइजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एक्लै डिआइजीमा बढुवा भए।

त्यसपछि उनी १५ मंसिर २०७७ मा एआईजीमा बढुवा भए। त्यो पनि दरबन्दी थप गरेर। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो।

अस्वाभाविक छलाङ मारेका पोखरेल आइजिपीको प्रबल दाबेदार हुन्। तर, उनलाई एमालेको ट्याग लागेकाले सम्भावना कम देखिन्छ। निर्वाचनमा आफूहरूलाई सहयोग गर्ने चिन्ता प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणको छ। जसले गर्दा दुवै जनाको रुचिमा पोखरेल परेका छैनन्।

आइजिपी बन्न चर्को लबिङ गर्ने अर्का एआईजी हुन् सहकुल थापा।

डिआइजीमा सिंह र धानुकसँगै बढुवा भएका थिए। थपिएको दरबन्दीबाट उनी एआईजीमा बढुवा भएका थिए  उनलाई पनि देउवाले पत्याइहाल्ने अवस्था छैन। तर, वरिष्ठताको आधारमा पोखरेल र थापा मध्ये एक जना बढी दाबेदार हुन्। आज बढुवा भएका सिंह र धानुक पनि पोखरेलकै ब्याची हुन्। एसपीसम्म १ नम्बरमा रहेका सिंह एसएसपी बढुवामा शीर्ष तीनमा परेका थिए।

सिंहलाई देउवाले आइजिपी बनाउन चाहेका छन्। सुदूरपश्चिम घर भएका तथा एआईजीको तेस्रो वरियतामा रहेका सिंहलाई प्रधानमन्त्री देउवाले बढी रुचि देखाएका हुन्।

नेपाल प्रहरीका भाग्यमानी प्रहरी अधिकृत मानिएका धानुक पनि भावी आईजीपीका दाबेदार मानिन्छन्। सुदूरपश्चिम घर भएका धानुकलाई पनि देउवाकै साथ छ। प्रहरीले सञ्चालन गर्ने अप्रेसनहरूमा धानुक ‘अब्बल’ प्रहरी अधिकारीका रूपमा परिचित छन् ।

जसले गर्दा पनि देउवाले उनलाई एआईजीमा बढुवा गरेका हुन्। हुन त सिंह डिआइजीमा छैटौं र धानुक आठौं वरीयता क्रममा छन्। तर, प्रधानमन्त्री देउवाले सिंह र धानुकमध्ये एक जनालाई आइजिपी बनाउन खोजेका छन्।

उनीहरूभन्दा वरीयताक्रममा अगाडि रहेका तीन जना डिआइजीहरू एआईजीमा बढुवा नभएपछि सर्वोच्च पुगेका छन्। डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् । उनीहरूले बढुवा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश मागदाबी गरेका छन्।

उनीहरूको दाबी अनुसार नै सर्वोच्चले फैसला गरेको खण्डमा थप तीन जना पनि भावी आईजीपीका दाबेदार मानिनेछन्।


प्रतिक्रिया दिनुहोस्