किशोर विक नभएको भए सारेगम पनि जान्दिनँ थिए होला: भुपेन्द्र थापा

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ४९


भैरहवा । पढाइसँगै भुपेन्द्र थापा मगरको रुचि बक्सिङ, क्रिकेटमा पनि थियो। परिवार नै संगीतमय वातावरणको भएर नै होला उनले संगीत क्षेत्रमै सफलता पाए। जन्मेदेखि नै संगीत क्षेत्रमा रुमल्लिएका भुपेन्द्र नेपाल आइडल सिजन ४ को उपाधि पाउनुलाई धेरैले पारिवारिक वातावरण ठान्छन्।

सन् १९९५ मा आमा रत्ना थापा र बुआ सेरु थापा मगरको एक मात्र छोराको रूपमा जन्मेका भुपेन्द्र सानैबाट संगीतिक वातावरणमा हुर्के। संगीतमय वातावरणमा हुर्केका भुपेन्द्र आफ्नो करियर पनि संगीत क्षेत्रमै व्यतित गर्न चाहान्थे। टोल छिमेकमा भजन होस् या विद्यालयमा कुनै कार्यक्रम भुपेन्द्र सहभागी हुन्थे। पढाइसँगै विद्यालयमा संगीत कक्षा पनि लिने गरेका थिए। पहिलो पटक विद्यालयमै स्टेज पाएको उनी बताउँछन्। त्यसपछि विभिन्न व्यान्डहरूमा अवसर पाउँदै गए। थापाले संगीत सिक्नकै लागि जागिर छोडे।

२०७५ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भ्वाइस अफ भैरहवा सिजन ३ मा उनले उपाधि जिते। उनले पहिलो पटक नेपालमा हुन लागेको आइडलमा सहभागी हुन खोजे। भैरहवाको जेसिज स्कुलमा हुने पहिलो सिजनको अडिसनमा उनले प्रतिस्पर्धीको रूपमा अडिसन दिए।

त्यसपछि २०७६, २०७७ सालमा र २०७८ मा पोखराबाट अडिसन दिए। सुरुबाटै जित्नकै लागि प्रयास थियो, भोटिङसम्म पुग्ने रहेको थापा सुनाउँछन्।

तीनपटकको प्रयासमा थियटर राउण्डबाट बाहिरिन्थे, यो सिजनमा रहर पूरा भएपछि भोटका लागि अपिल गर्दे सपनाको लोभ लाग्दै गयो र फिनालेमा पुगेपछि जित्नै पर्छ भनेर मिहिनेत गरेको उनले सुनाए।

आफ्नो सफलताको पछाडि किशोर विकको हात रहेको उनी बताउँछन्। किशोरबाटै संगीत के हो, कसरी सिक्ने भन्ने मौका पाएको उनले बताए।

‘जति पनि सिके, जे छु उहाँ नै हो, उहाँ नभएको भए सायद सारेगमा केही पनि सिक्दैन थे होला,’ भुपेन्द्रले भने।


प्रतिक्रिया दिनुहोस्