महिला लिग: विवादास्पद खेलमा पुलिसले आर्मीलाई हरायो

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ९ : १६


विवादास्पद बनेको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले बुधबार राष्ट्रिय महिला लिग प्रतियोगितामा दोस्रो जित निकालेको छ।

चितवनको शारदानगरमा सम्पन्न तेस्रो चरणको खेलमा पुलिसलाई जिताउन कप्तान निरु थापा र निर्मला उपाध्यायले समान एक गोल गरे। आर्मीका लागि डिफेन्डर पुनम जर्घा मगरले सान्त्वना गोल फर्काइन।

खेलको १३औं नीरु थापाको गोलबाट अग्रता लिएको पुलिसका लागि त्यसको एक मिनेटपछि निर्मला उपाध्यायले दोब्बर अग्रता बनाइन्।

निकै प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा पुनम जर्घामगरले आर्मीका लागि सान्त्वना गोल फर्काइन्।

दोस्रो हाफमा रेफ्रीले आर्मीलाई पेनाल्टी दिएपछि पुलिसका खेलाडी त्यसको प्रतिपादमा उत्रँदा खेल करिब १२ मिनेट रोकिएको थियो । रेफ्रीले हेन्ड भएको भन्दै पेनाल्टी दिएपछि पुलिसका खेलाडीले खेल खेल्न आनाकानी गरेका थिए।

करिब १२ मिनेटको विवादपछि खेल पुनः सुरु भएको थियो। आर्मीकी रश्मि कुमारी घिसिङको पेनाल्टी प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरेकी थिइन्।

तीन खेल खेलेको पुलिसले दुईमा जित र एकमा हार बेहोर्दै ६ अंक बनाएको छ। यस्तै, समान खेलेको आर्मी एक जित र दुई हार बेहोर्दै मात्र तीन अंक बनाएको छ।

यसअघि, बुधबारै भएको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले १–१ बराबरी खेलेका थिए।

बिहीबार हुने पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र वालिङ नगरपालिका तथा धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाबीच खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्