ताप्लेजुङमा म्यादी प्रहरी छनौट सुरु

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ४५


ताप्लेजुङ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा म्यादी प्रहरीका छनौट सुरु भएको छ। आजदेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा छनौट कार्य सुरु गरेको हो।

ताप्लेजुङका लागि ६४७ जना म्यादी प्रहरी माग गरिएको छ। तर १ हजार ६०२ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका छन् । यो माग संख्याको अढाई गुणा बढी हो।

शारीरिक तन्दुरुस्ती परीक्षणका लागि उचाइ, तौल साथै दौड, सेटप र बुसप लगायतका स्वास्थ्य प्रारम्भिक स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। बुधवार आठ सय जनाको छनौट परीक्षण हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्वास्थ्य तन्दुरुस्ती परीक्षणमा सफल उम्मेदवारलाई शुक्रबार लिखित परीक्षा हुने छ । आइतबार लिखितमा सफल हुने उम्मेदवारलाई मौखिक अन्तर्वार्ता हुने छ। सोमबार छनौट सफल भएका उम्मेदवारको अन्तिम नतिजा प्रकाशन हुने जिल्ला प्रहरी कार्यालयले जनाको छ।

छनौट भएका उम्मेदवारहरूलाई चैत २८ गते प्रशिक्षण हुने छ । म्यादी प्रहरीको कार्यविधि ४० दिनको हुने छ। म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ।

निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरूप प्रति म्यादी प्रहरी (एक पटकका लागि) एक हजार रुपैयाँ उपलब्ध हुने छ। बिमालगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्