अध्यक्ष ओलीद्वारा टावर उद्घाटन

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ०८


नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज उद्घाटन गरे।

तिलोत्तमा नगरपालिका–२ स्थित शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण गरिएको हो। तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो। वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए।

उनले लुम्बिनी सबैको आँखामा पर्ने स्थान रहेको र त्यसको प्रवद्र्धनका लागि तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै यसले नगरपालिकालाई नियमित आम्दानी दिने उल्लेख गरे।

उहाँले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनुपर्नेमा जोड दिए। आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उनले भान्सालाई औषधालयको रुपमा विकासगर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए।

नगर प्रमुख वासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको आम्दानीको स्रोत हुने बताए। नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

टावरमा होटल, रेष्टुराँ, कफिशप, डिपार्टमेन्टल स्टोर, लाईब्रेरी, अन्य विभिन्न सेवा केन्द्र तथा दुरदृश्यावलोकन सेवा उपलब्ध हुनेछ । एघार तल्ले उक्त टावर १३४ फिट अग्लो छ । विसं २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले यस टावरको शिलन्यास गरेका थिए।

टावरको भूइँ तलाको क्षेत्रफल तीन हजार ५९५ वर्ग फिट छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको योजना प्रमुख वनले जानकारी दिए। नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण भएको टावरको लागत रु ११ करोड ४५ लाख हो । टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचनासमेत निर्माण हुनेछन् । लिफ्ट सुविधासहित बनेको टावरसँगै दुई बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचना निर्माणको काम पनि अघि बढेको छ ।

टावरको उत्तरतर्फ स्विमिङ पुल र अगाडि म्युजिकल फाउन्डेस निर्माण गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिने जनाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्