किभ र चर्निहिभमा सैन्य गतिविधि कम गर्न रुस सहमत, रचनात्मक रह्यो रुस–युक्रेन वार्ता

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : २३


काठमाडौं। रुस र युक्रेनबीच मंगलबार टर्कीको राजधानी इस्तान्बुलमा सम्पन्न शान्ति वार्ता रचनात्मक भएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्।

युक्रेनी प्रतिनिधिसँगको छलफलमा रुसले युक्रेनी राजधानी किभ र चर्निहिभमा सैन्य गतिविधि कम गर्ने सहमति गरेको पनि बीबीसीले जनाएको छ।

उता युक्रेनले भने युद्धविरामको विषयमा सहमति बन्न नसकेको जनाएको छ। युक्रेनका अनुसार क्राइमियाको विषयमा अलग्गै छलफल हुनुपर्छ।

आगामी दुई हप्तापछि फेरि दुई देशको प्रतिनिधिबीच अर्को चरणको वार्ता गर्ने समझदारी भएको छ।

टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोगानले मङ्गलबार इस्तानबुलमा वार्ताको आयोजना गरेका थिए। उनले सो क्रममा रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई युद्ध अन्त्य गर्न आग्रह गरेका थिए।

युक्रेनको प्राथमिकतामा युद्धविराम थियो। यद्यपी रुसले अगाडि सारेको मागका कारण कुनैपनि विषयमा सहमति भने हुन नसकेको पाइएको छ।

रुसले युक्रेनलाई नेटोमा आवद्ध हुने मनसाय त्याग्न भनेको छ। यो विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सकरात्मक छन्।

रुसले पूर्वी युक्रेनी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्न माग गरेको छ। साथै क्राइमियालाई रुसी क्षेत्र मान्नुपर्ने पनि रुसको माग छ। यी विषयमा भने युक्रेन सकरात्मक छैन। बीबीसी


प्रतिक्रिया दिनुहोस्