सत्तागठबन्धनसँग चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ४१


काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए। गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको छ।

गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ । पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि थप छलफल गरेर समिति बनाउने प्रवक्ता महतले बताए।

निर्वाचन परिचालन समिति गठन

यस्तै कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ।

केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको छ। यस्तै प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्