काठमाडाैं । गत साता भारतको हैदराबादमा भएको चचर्चित बलात्कार तथा हत्या मामलामा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले ‘इन्काउन्टर’मा मारिदिएको छ । चारैजना अभियुक्तहरूलाई आज विहान भारतीय समयअनुसार ३ बजे कथित ‘मुठभेड’मा मारिदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरूलाई बुधबार (१८ मंसिर) प्रहरी हिरासतमा लिएको थियो ।
बताइएअनुसार बिहीबार राति प्रहरीले चारैजना अभियुक्तलाई उक्त स्थानमा लगेको थियो जहाँ २६ वर्षीया महिला चिकित्सकको बलात्कार र हत्यापछि जलाईको शव बरामद गरिएको थियो । कसरी घटना घटाइएको थियो भन्ने कुरा घटनास्थलमै दोहो¥याएर देखाउन भन्दै प्रहरीले अभियुक्तहरूलाई सो स्थानमा लगेको र घटनास्थलबाट फर्कने क्रममा चारै अभियुक्तहरूले प्रहरीहरूमाथि आक्रमण गर्ने प्रयास गरेपछि गोली प्रहार गरिएको सम्बद्ध प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् ।
गत २८ नोभेम्बरका दिन हैदराबादको टोल प्लाजा भन्ने स्थाननजिक महिला चिकित्सकको जलेको अवस्थामा मृत शरीर भेटिएको थियो । अनुसन्धानपछि चिकित्सक युवतीलाई बलात्कारपछि हत्या गरेर शव जलाइएको पुष्टि भएको थियो । भोलिपल्टै पक्राउ गरिएका अभियुक्तहरूलाई ‘इन्काउन्टर’मार्फत् हत्या गरिदिएर प्रहरीले जनआक्रोश साम्य गराउने प्रयत्न गरेको भन्दै सो कदमको कतिपय मिडियामा प्रशंसा गरिएको छ ।