प्रभावकारी बन्दै राहदानी सेवा

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ३ : ०७


काठमाडौँ । बिहीबार बिहान ९:३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।

आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय जना र अन्य दिन पाँचदेखि सात सय जनाको हाराहारीमा दैनिक सीधै सेवाग्राही विभाग पुग्छन् । जिल्लाबाट आउने फारामसमेत गरी हरेक दिन करिब तीन हजारले सेवा लिन्छन् । यति ठूलो सेवा दिने ‘आईएसओ’ प्रमाणपत्र पाएको विभागको गेटमै फुटेको ढल देखियो । कार्यकक्षभित्र कतिपय राम्रो काम भइरहे पनि त्यसको झल्को बाहिरको वातावरणले महसुस गराएन । सेवाग्राही कुर्ने कुर्सीका लर्कोपट्टि फुटेको ढलमा घाम परेसँगै दुर्गन्ध फैलँदै थियो ।

“पहिले आउँदा पनि यो यस्तै थियो, अहिले पनि यस्तै ढल फुटेर फोहोर नै रहेछ,” एक सेवाग्राहीले थपे, “हेर्नुस् न यो डस्टबिन कस्तो फोहोर ?” परिसर छिर्नासाथ दायाँतिर शौचालय छ । शौचालयबाट गेटतिर बगेर आउँदै गरेका तरल शौचका दुर्गन्धले हरेकका नाक खि¥याउँदै थियो । बाहिर जे भए पनि विभागले दिने आन्तरिक सेवामा भने निकै चुस्तता बढेको पाइयो । राहदानी बनेको खबर पाएपछि लिन आएका सेवाग्राहीदेखि तत्काल बनाउन आएकाको चहलपहल बढ्दो थियो ।

पहिले पहिले बिचौलिया र बाहिरका व्यापारीको क्रीडास्थल बन्ने गरेको विभागको त्यो पाटो सुधारिएको सेवाग्राहीकै टिप्पणी थियो । कैलालीका चन्द्रबहादुर घर्ती आफ्ना छोराको राहदानी बनाउन एक दिनभर गाडीको यात्राबाट १०:१५ बजेको आसपास विभागमा आइपुग्नुभयो । “छोरालाई विदेश पठाउने हो, त्यसैले राहदानी बनाउन आएको ।” उहाँले भन्नुभयो, “ऊ भित्र गएको छ, हामी यहाँ कुर्दैछौँ ।” -गाेरखापत्र दैनिक


प्रतिक्रिया दिनुहोस्