गणेशले खाडीमा आँखाको ज्योति गुमाए तर परिवारको भरोसा गुमाएनन्

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ४९


महोत्तरी। बर्दिवास–२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारीमा जाँदा तन्दुरुस्त थिए। २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा हासीखुशी कतार गएका थिए।
कतार पुग्दा यहाँ भने जस्तो काम नभए पनि तलब राम्रै भएकाले उनी खुसी नै थिए। छोराले राम्रैसँग काम गरिरहेकोमा परिवार खुशी नहुने कुरै भएन। तर, यो खुशी धेरै दिन टिकेन।

श्रेष्ठ र उनको साथीबीच विवाद हुँदा ठूलै रुप लियोण् । झगडा मुक्का हानाहान हुँदै चिर्पट प्रहारसम्मै पुग्यो। साथीले प्रहार गरेको चिर्पट श्रेष्ठको टाउकामा बजारियो। जसले उनको आँखाको रेटिनानै गुम्यो।

काम गरेर परिवारलाई खुशी दिने उनको सपना आँखै नदेख्ने भएपछि चकनाचुर बन्यो। यसपछि श्रेष्ठको संघर्ष झनै काहालिलाग्दो बन्यो। दुवै आँखा गुमाएर श्रेष्ठ करिब डेढ बर्षपछि स्वदेश फर्किए। उनकै भरोसामा बाँचिरहेका बुबाआमा, श्रीमती झनै भावविहल बने। तर, श्रेष्ठले परिवारमा दिएको भरोसाले परिवारको पीडा केही हदसम्म कम भयो।

कठिन संघर्षपछि श्रेष्ठले पाएको सफलताले उनी आँखा देख्दिन भन्ने नै बिर्सने गरेको बताउँछन्। श्रेष्ठले स्वदेश फर्केपछि मैनबत्ती, मुढा, साबुन बनाउने, फिनेल, हार्पिक र अगरबत्ती बनाउने तालिम लिए । यसले उनलाई आर्थिक रुपमा मात्रै बलियो बनाएन आत्मविश्वासी पनि बनायो।

‘त्यसपछि म जस्तै अपाङ्ग भएर हिनताले बाँचिरहेका दृष्टिविहीनलाई मैले त्यसपछि खोज्न थाले।’ उनले भने। श्रेष्ठले आफू जस्तै दुर्घटना वा जन्मजात आँखा गुमाएकाहरूको सुचि तयार गर्दै गए। महोत्तरीमा मात्र पाँच सय जनाभन्दा बढी दृष्टिविहीनहरूलाई प्रत्यक्ष भेटेर अनुभव सुनाए।

नेत्रहिन संघ महोत्तरीको गठनपछि श्रेष्ठलाई दृष्टिविहीनहरूसँग थप काउन्सिलिङ गर्न सहयोग मिल्यो । अहिले संघमा तीन सय ५० भन्दा बढी दृष्टिविहीनन जोडिएका छन्। श्रेष्ठ अहिले उक्त संस्थाका संयोजक पनि हुन्। जिल्लाका धेरैजसो दृष्टिविहीनहरू स्वरोजगार बनेका छन् भने कतिपयले लोकसेवा आयोगवाट सरकारी सेवामा प्रवेश गरेका छन्।

लोकसेवा आयोग पास गरेर अहिले जिल्लाका करिब १० जना दृष्टिविहीन सरकारी सेवामा कार्यरत छन् भने सयौं जना मैनबत्ती, अगरबत्ती, साबुन बनाएर स्वरोजगार बनिरहेका छन्।

श्रेष्ठ आफै पनि दिनभरी बजार चहार्छन्। आफैले बनाएको अगरबत्ती, मैनबत्ती, साबुन बोकेर बेच्छन्। यसैबाट श्रेष्ठलाई आर्थिक उपार्जन गरेर परिवारको छोरा हुनुको भरोसालाई टुट्न दिएका छैनन्।

‘अहिले उनकै पहलमा नेत्रहिनहरूको लागि भवन निर्माण प्रक्रिया अघि बढेको छ। बर्दिवास नगरपालिकाले यसका लागि १५ लाख रुपैयाँ दिएको छ।’ श्रेष्ठले भने।

जिल्लाका दृष्टिविहीहरूले श्रेष्ठले नेतृत्व गरेको संस्थाकै माध्यमबाट विभिन्न सिपमुलक तालिम लिएका छन्। सोही तालिमको माध्यमबाट अहिले उनीहरू बजारमा आफैले उत्पादन गरेका वस्तुहरू बेच्ने गर्छन्।

श्रेष्ठको एक छोरा छन्। १४ वर्षीय उनका छोरा बर्दिवासमै रहेको ग्लोबल एकेडेमीमा कक्षा १० मा अध्ययनरत छन्। उनकी श्रीमती पनि काम गर्छिन्। ‘ दैनिक पाँच सयदेखि हजार रुपैयाँसम्म मेरो आम्दानी हुन्छ।’ उनले भने।

श्रेष्ठको अवस्था देखेर विद्यालयले छोरालाई कक्षा ५ सम्म निःशुल्क गरिदियो। तर, त्यसपछि भने श्रेष्ठले छोराको मासिक शुल्क पनि तिर्दै आएका छन्। ‘निःशुल्क नै गरिदिएको भए त राम्रो हुन्थ्यो गरेनन् नभए पनि ठिकै छ ।’ उनी भन्छन् ।

अहिले श्रेष्ठको सारथि वीरेन्द्र महतो बनेका छन् । उनी पनि आँखा देख्दैनन्। तर, शिक्षक सेवा आयोगबाट नाम निकालेर जिल्लाको रामगोपालपुर नगरपालिकामा शिक्षण गर्छन।

अपांगता भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोणबाट भने श्रेष्ठ निकै चिन्तित छन् । उनी भन्छन्,‘ निक्कै तल्लोस्तरको हेराइ हुन्छ । हामीलाई थप उर्जा दिएर आत्मबल बढाउनुपर्नेमा दयाभावले हेर्छन।’ उनले भने।

स्थानीय सरकार तथा संघीय सरकारले जीवनयापनको लागि माध्यम खोजिदिनुपर्ने उनको माग छ। ‘हामी काम गर्न सक्छौं सपाङ्गको जत्तिकै हामीलाई प्लेटफर्म दिइयोस्।’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्