मन्त्रीज्यू ! उखु किसानकाे सवा २ अर्ब भुक्तानी कहिले हुन्छ ?

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ३ : २१


काठमाडौँ । उखु क्रसिङ गर्ने सिजन सुरु हुँदा गत वर्ष उखु बिक्री गरेबापतको करिब सवा दुई अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसानले सरकारसँग गुहार मागेका छन् । चिनी उद्योगीले उधारो उखुको भुक्तानी र सरकारले अनुदान रकम नदिएपछि किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर ‘भुक्तानी कहिले पाउँछौं’ भन्दै प्रश्न गरेका हुन् ।

उनीहरुले तत्काल भुक्तानीको व्यवस्था मिलाउन पनि आग्रह गरे । किसानका अगुवा आफ्ना समस्या सुनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट र राज्यमन्त्री मोती दुगडसमक्ष पुगेका थिए । मन्त्रीहरुको ध्यानाकर्षण गराउँदै नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘मन्त्रीज्यू साढे दुई अर्ब भुक्तानी कहिले पाउछौं ?’ किसानले सरकारबाट पाउनुपर्ने एक अर्ब ३० करोड रुपैयाँ अनुदान र उद्योगीले दिनुपर्ने करिब ९९ करोड रुपैयाँ बक्यौता छ ।

१३ वटा चिनी उद्योगमध्ये ६ वटाले उखु खरिद गरेबापतको सबै रकम चुक्ता गरेका छन् । बाँकी सात उद्योगले विभिन्न बहाना बनाएर अल्झाएका छन् । सरकारको झन्झटिलो नीतिका कारण अनुदान पनि नपाएको किसान बताउँछन् । रौतहट, नवलपरासी र सर्लाहीका किसानले उखु बिक्री गरेबापत ९९ करोड रुपैयाँ पाउन बाँकी रहेको महासंघले जनाएको छ । गत वर्ष करिब दुई करोड क्विन्टल उखु क्रसिङ भएको थियो ।

सबैभन्दा धेरै रौतहटको श्रीराम सुगर मिलको ३० करोड रुपैयाँ बक्यौता बाँकी छ । त्यसैगरी, नवलपरासीको बागमती चिनी मिलको १३ करोड, इन्दिरा सुगर मिल १९ करोड, लुम्बिनी चिनीमिल १२ करोड, बाबा वैजनाथ सुगर मिल रौतहटको दुई करोड, अन्नपूर्ण सुगर मिल सर्लाही १५ करोड, महालक्ष्मी सुगर मिलबाट आठ करोड रुपैयाँ किसानले पाउनुपर्ने महासंघले जनाएको छ । -नागरिक दैनिक


प्रतिक्रिया दिनुहोस्