युक्रेनसँगको शान्तिवार्तामा सहभागी रुसी अर्बपति अब्रामोभिचलाई विष दिएको आशंका, असर देखियो

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ००


काठमाडौं। रुसी अर्बपति रोमन अब्रामोभिच यसै महिनाको सुरुमा युक्रेन–बेलारुस सीमामा भएको शान्तिवार्तामा सहभागी भएका थिए।

सो क्रममा उनलाई विष दिइएको आशंका गरिएको छ। बीबीसीका अनुसार विषको असरयुक्त लक्षणसाथ उनी बिरामी परेका छन्।

चेल्सी फुटबल क्लबका मालिक अब्रामोभिच अहिले निको भइसकेका छन् तर उनको आँखा र छालामा समस्या देखिएको बताइएको थियो।

दुईजना युक्रेनी शान्ति वार्ताकार समेत प्रभावित भएको बताइएको छ।

एक समाचारले उक्त सन्दिग्ध विष प्रयोग वार्ता भाँड्नका लागि रुसमा रहेका कट्टरपन्थीले मञ्चन गरेको जनाएको छ।

ती आरोपहरू देखा पर्न थालेपछि एकजना नाम नखुलाइएका अमेरिकी अधिकारीले रोयटर्स समाचार संस्थासँग बोलेका थिए।

अब्रामोभिचमा देखिएका लक्षणलाई ती अधिकारीले विष प्रयोगका कारण नभइ वातावरणीय पक्षले भएको आफ्ना गुप्तचरी सूचनाले सुझाएको बताएका छन्।

र त्यसपछि युक्रेनको राष्ट्रपति कार्यालयका एक अधिकारीले अब्रामोभिचसँग कुरा नगरेको भए पनि युक्रेनी प्रतिनिधिमण्डलका सदस्यहरू ठिक भएको र उक्त खबर झुटो रहेको बताएका छन्।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनर भन्छन्,‘अब्रामोभिच निकट स्रोतले भने उक्त घटना भएको र अनुसन्धानकर्ताले त्यो नियतवश रासायनिक तत्त्वका प्रयोग भएको निष्कर्ष निकालेका छन्।’


प्रतिक्रिया दिनुहोस्