बर्दिबासको खयरमारामा गएको पहिरोग्रस्त क्षेत्रको अनुगमन

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : २१


महोत्तरी । महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएसँगै अनुगमन गर्ने सम्बन्धित निकाय र भूगर्भविद्को उपस्थिति बाक्लिएको छ ।

बुधबार राति खयरमाराको भित्री वस्ती नजिकै तीनतलेबाट भीषण पहिरो खसेको थियो । मिडियाकर्मीले पहिरोको विषयलाई निक्कै प्राथमिकता दिएपछि संघीय राजधानीबाट घटनास्थल अवलोकन गर्न आउने भूगर्भविद्को उपस्थितिसमेत बाक्लिएको छ ।

पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्तिमा नै जोखिम बढेको छ । पहिरो जानेक्रममा वृद्धि हुँदै गएको हुनाले पनि पहिरोको विषयमा थप अनुसन्धान गर्नुपर्ने भूगर्भविद् प्रकाशराज घिमिरे बताउँछन् ।

कतिपय वातावरणविद्ले तातो र चिसोको सन्तुलन बन्न नसक्दा पहिरो गएको हुनसक्ने बताउँदै आएका छन् । तर पहिरोको तथ्यगत कारणको विषयमा भने भूगर्भविद् आफै अलमलमा छन् ।

पहिरोको विषयमा थप अनुसन्धान गर्नका लागि विशेषज्ञसँग छलफल भइरहेको इन्जिनियरिङ कलेजका उपप्राध्यापकसमेत रहेका घिमिरेले जानकारी दिए ।

आजै जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखले पनि पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेका छन् । जिल्ला प्रमुख अधिकारी, नेपाल प्रहरी महोत्तरी प्रमुख, सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुखले अनुगमन गरेका थिए ।

पहिरोले खोला नै पुरेपछि छोडके, पिपलदमा, गुरुङ्ग खोला, चनौटे, गर्दिखोला, भाङग्रे झ्याउरे तथा खयरमाराको मुख्य बजारमा नै जोखिम हुन सक्ने स्थानीयको भनाइ छ ।

आजै मधेस प्रदेशका सूचना, सञ्चार तथा संघीय मामिला मन्त्री भरतप्रसाद साहले पनि पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेका छन्। अनुगमनका क्रममा मन्त्री साहले विज्ञसँग बसेर तत्काल छलफल अगाडि बढाउने बताए। छलफलपछि दीर्घकालीन सावधान खोजिने मन्त्री साहले स्थानीयलाई विश्वास दिलाए।

अहिले खोलाबाट खयरमारा र बर्दिबास जाने बाटो बन्द भएको छ। सडक सञ्जालको सुविधा नहुँदा खयरमारास्थित भित्री वस्तिका स्थानीय खोलाबाट नै आवतजावत गर्दै आएका छन्।

पहिरो गएको नजिक र वरपर मात्र झण्डै दुई सय घरधुरी बसोबास गर्दै आएका छन् । यसरी भीषण सुख्खा पहिरो गएको जीवनकाल कै पहिलो अनुभव भएको स्थानीय बासिन्दा बताउँछन्।


प्रतिक्रिया दिनुहोस्