कलेज भवनमा आगलागी: १४ बेपत्ता, २७ घाइतेमध्ये अधिकांश विद्यार्थी

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ४ : १३


किभ । युक्रेनमा भएको आगलागीमा परेकामध्ये १४ जना हराइरहेका अधिकारीले जनाएका छन् । युक्रेनको दक्षिणी क्षेत्रमा पर्ने ओडिसा बन्दरगाह सहरमा भएको आगलागीमा परेकाहरुको केही पत्ता नलागेको राष्ट्रपति भोलोडीमीर जेलेन्स्कीले बताउनुभयो ।  

ओडिसाको मध्य भागमा रहेको एउटा कलेजको भवनमा बुधबार आगलागी भएको र हराएकाहरु विद्यार्थी नै रहेको अधिकारीहरूले जनाएका छन्। आगलागीमा परी १६ बर्षिया एक छात्राको मृत्यु भएको पुष्टि भएको छ भने अरु २७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको शरीरका धेरै भाग जलेका अवस्थामा अस्पतालमा उपचार भैरहेको छ ।

आगलागी भएको छ तले घर भित्र रहेका ती विद्यार्थीहरु जीवितै छन् की भनेर सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूले खोजी कार्य जारी राखेका छन्। बिहीबार विहानैदेखि अग्नि नियन्त्रकहरूले पनि आगो निभाएर भग्नाबशेष अवस्थाका पर्खाल तथा अन्य सामानहरु हटाउने कार्य गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति जेलेन्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “सम्पर्कबिहीन रहेका १४ जना नै जिवितै अवस्थामा एकदमै चाडैँ भेटिने विश्वास गर्दछौँ ।” उहाँले त्यहाँ अरु पनि पीडित भएको हुन सक्ने आशंका पनि व्यक्त गर्नुभएको छ । 

खोजी तथा उद्धारमा खटिएकामध्ये सात जना अग्नि नियन्त्रकहरु घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । “हामी सवैले उनीहरूको जिवितै उद्धार गर्न सकियोस भनेर प्रार्थना गरिरहेका छौँ,” ४१ बर्षीय राष्ट्रपति जेलेन्कीले भन्नुभयो ।

उहाँले घाइतेहरुलाई स्वस्थ अवस्थामा फर्काउनका लागि चिकित्सकले संभव भएसम्मका सवै प्रयास गरिरहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले चिकित्सकको प्रयास सफल हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । घटना भएको शोकमा ओडिसाका नगर प्रमुखले बिहीबार र शुक्रबार नगरभरी शोक मनाइने निर्णय भएको जानकारी दिनुभयो ।  


प्रतिक्रिया दिनुहोस्