बमबारीका कारण युक्रेनी महिलाले समय अगावै जन्माउन थाले बच्चा, शिशु बचाउनै गाह्रो

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : १९


काठमाडौं। रुस–युक्रेन द्वन्द्व दोस्रो महिनामा प्रवेश गरेको छ। यसक्रममा रुसले लगातार युक्रेनका विभिन्न क्षेत्रमा बमबारी गर्न छाडेको छैन।

युक्रेनी सेनाले पनि लगातार जवाफी कारवाही गरिरहेका छन्। बीबीसीका अनुसार बमबारीका कारण गर्भवती महिलाहरुले समय अगावै बच्चा जन्माउन थालेको देखिएको छ।

युद्धग्रस्त क्षेत्रमा समय अगावै बच्चा जन्मिने दर बढेको खारकिभ र लभिभका डाक्टरहरुले बीबीसीलाई जानकारी दिएका छन्।

चिकित्सकका अनुसार युद्धका कारण गर्भवती महिलामा डर, त्रास, तनाव उत्पन्न भएपछि उनीहरु समय अगावै बच्चा जन्माइरहेका छन्।

बीबीसीका अनुसार पोलिना नाम गरेकी बच्चा हालै जन्मिएकी छन्। समय अगावै जन्मिएकी उनको वजन ६३० ग्राम थियो। सामान्य डेलिभरी भएको भए उनको वजन त्योभन्दा पाँच गुणा ज्यादा हुन्थ्यो।

यस्तै लभिभको अस्पतालमा जन्मिएकी भिक्टोरियाको वजन पनि ८ सय ग्राम मात्र थियो। खारकिभ क्लिनिकका मेडिकल निर्देशक इरिना कोन्द्रातोभका अनुसार समय नपुगी बच्चा जन्मिनेदर पहिलेभन्दा तीन गुणाले बढेको देखिएको छ।

समय अगावै बच्चा जन्मिदा शिशु मृत्युदर बढी हुन्छ। त्यसमाथि बमबारी जारी रहेकाले शिशुको स्वास्थ्यमा झनै समस्या पर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्