धर्मश्री विजेताले १० लाख प्राप्त गर्ने

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ०३


पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन्। पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन्।

खेलकुदको क्षेत्रमा व्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको आयोजकको दाबी रहेको यस प्रतियोगिताको अघिल्लो संस्करणमा पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको थियो।

२०१० मा स्थापित व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ। पहिलो र दोश्रो संस्करणमा तौल समूहको आधारमा प्रतियोगिता गर्दै आइरहेकोमो तेस्रो संस्करणबाट प्रत्येक तौल समूहका विजयी खेलाडीहरूको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्मश्री विजेताको रूपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो।

शारीरिक सुगठनको इतिहासमानै अति नै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६औँ संस्करणमा नयाँ विधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स विधालाई थप गरिएकोसमेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो।

२३ र २४ वैशाखमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ २३ वैशाखमा हुनेछ। फाइनल चरणका खेल २४ वैशाखमा हुनेछ। प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजीतौल समूहमा चार सय खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूको बीचमा अन्तिम प्रतिस्पर्धा गराई बिजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिनेछ।

प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्। यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौंले एक लाख, छैटौँले ९० हाजार र सातौं हुनेले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ। महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्