१३ औँ सागः नेपाललाई ऐतिहासिक सफलता, सागमा स्वर्ण शतक पूरा

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  २ : ०६


काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३औँ संस्करण जारी रहँदा नेपाललाई अर्को सफलता मिलेको छ। सागको इतिहासमा नेपालले अहिलेसम्म एक सय स्वर्ण पदक जितेको हो। 

सागमा आफ्नो पहिलो र देशको १०० औँ स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका सक्षम कार्कीले पाए।

बुधबार तेक्वान्दोको ८७ केजी तौल समूहमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेपछि सागमा नेपालको कूल स्वर्ण सङ्ख्या एक सय पुगेको हो। नेपालले १३औँ सागमा बुधबारसम्म २९ स्वर्ण जितेको छ।

तत्कालिन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को पहिलो संस्करणमा नेपाललाई बक्सिङमा स्वर्गीय पुष्करध्वज शाहीले पहिलो स्वर्ण पदक दिलाएका थिए। नेपालबाटै सन् १९८४ मा सुरु भएको (साग) को पहिलो संस्करणमा नेपालले चार स्वर्ण हात पारेको थियो। 

त्यस्तै १३ औँ सागको प्रारम्भिक चरणदेखि पदक तालिकाको शीर्ष स्थानमा रहेको नेपाललाई बुधबार भारतले उछिनेको छ। नेपालले १३ औँ सागमा २९ स्वर्ण, १५ रजत र २५ कास्यसहित कुल ६९ पदक जितेको छ। त्यस्तै भारतले ३४ स्वर्ण, २३ रजत र १३ कास्य गरी कुल ७० पदकसहित र्शीष स्थानमा छ। 

पाकिस्तान ९ स्वर्ण, १८ रजत र १८ कास्यसहित तेस्रो, श्रीलङ्का ८ स्वर्ण, २३ रजत र ३८ कास्यसहित चौथो,  बङ्गलादेश चार स्वर्ण, सात रजत र २६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान ४ कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ।

यस्तो छ १३ औँ सागकोअंक तालिका 


प्रतिक्रिया दिनुहोस्