काठमाडौं । नेकपाको सचिवालय बैठक सकिएकोछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा कतै अन्तर्घात नभएको निष्कर्ष निकालेको छ। यद्यपी निर्वाचनका विषयमा औपचारिक समिक्षाको जिम्मा भने निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई दिइएको छ।
‘बैठकमा उपनिर्वाचनका विषयमा जानकारी गराइएको थियो। हामीलाई भएको सामान्य जानकारी अनुसार कहीँ अन्तर्घात भएको छैन,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । तर, सचिवालयले यस विषयमा औपचारिक निर्णय गर्न सम्बन्धित वडा, नगर, प्रदेश र जिल्ला कमिटीहरुको समिक्षा कुर्ने भएको छ।
विद्रोही उम्मेदवार उठेर जितेकोमा त्यही बेला कारबाही भइसकेको उहाँले जानकारी गराउनुभयो। पार्टी सदस्यबाट निष्काशित गरिसकेकाले सचिवालयले त्यस विषयमा थप निर्णय गर्नु नपरको उहाँको भनाइ छ । सचिवालयको बैठक आगामी २३ गते बिहान ९ बजे तय गरिएको छ।