दोलखा । दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन्।
बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन्।
१० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘वर्षमा आलु तीन पटक, गोलभेँडा दुई पटक र सागपात सधैंभरी उत्पादन गरेर बेचिरहेको छु । एक सिजनमा कम्तीमा छ लाख रुपियाँसम्म कमाइ हुने गरेको छ । तीन सिजनको तरकारी मैले बेच्दा कम्तीमा २० लाख जति त बचाउने गरेको छु ।’
१२ कक्षासम्म अध्ययन गरेर जागिरे जीवन पनि सुरु गरेका न्यौपानेले जागिरले घर व्यवहार चलाउन नसक्दा तरकारी खेतीमा लागेको बताउनुभयो। २०६८ सालबाट तरकारी खेती सुरु गरेका न्यापानेले तरकारीको आम्दानीबाटै आमाबुबा, छोराछोरी र श्रीमतीसहित ६ जनाको परिवार धानेका आउनुभएको छ।
उहाँले तरकारी खेतीबाट भएको आम्दानीले साढे दुई तलाको पक्की घर बनाउनुका साथै जमिनसमेत जोड्नुभएको छ। दैनिक १० देखि १२ घण्टासम्म खेतबारीमै समय बिताउँदा विदेशको भन्दा दोब्बर कमाइ हुने भएकालेले पनि आफूलाई विदेश जाने रहर नजागेको बताउनुभयो। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।