प्रियंका गान्धीको घरमा सन्दिग्ध व्यक्ति घुसेपछि सुरक्षाबारे चिन्ता

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ३६


दिल्ली । भारतमा नरेन्द्र मोदी सरकारले त्यहाँका घरानिया राजनीतिक परिवार गान्धी परिवारलाई दिँदै आएको उच्च सुरक्षा इकाई हटाएपछि पहिलो पटक सुरक्षा चुनौती सम्बन्धी घटना सार्वजनिक भएको छ।

दिल्ली स्थित काँग्रेस महासचिव प्रियकां गान्धीको घरमा सन्दिग्ध कार घुसेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

भारतीय मिडियाका अनुसार ३ पुरुष ३ महिला र एक बालक सहित सन्दिग्ध कार घरभित्र पसेको हो । 

प्रियकां गान्धी एक बैठकमा व्यस्त रहेका बेला अज्ञात व्यक्ति घरमा पुगेका हुन् । 

उनीहरुको परिचय सोध्दा आफूहरु शुभचिन्तक रहेकाले सेल्फी खिच्न आएको जवाफ दिएको गान्धीलाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गान्धी परिवारलाई दिएको स्पेशल प्रोटेक्शन ग्रुप (एसपीजी) भनिने  सुरक्षा इकाई सरकारले केहि महिना अघि हटाएको थियो । 

यसअघि यो सुरक्षा इकाई काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, उहाँका छोरा राहुल गान्धी र छोरी प्रियंका गान्धीलाई दिँदै आइएको थियो।

हाल यो श्रेणीको सुरक्षा इकाईको सुविधा पाउने भारतमा प्रधानमन्त्री मोदीमात्र हुनुहुन्छ ।

१९८३ मा तत्काली प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि गान्धी परिवारका सदस्य तथा प्रधानमन्त्रीको सुरक्षाका लागि एसपीजी सुरक्षा इकाई गठन गरिएको थियो । त्यसयता भारतमा पहिलो पटक गान्धी परिवार यो सुरक्षा इकाईबाट बञ्चित भएको हो।

असिमित सुरक्षाकर्मी, हवाई स्कर्टिङलगायत विशेष सुरक्षा दिइने यो इकाईको खर्च धेरै हुने गरेको भन्दै मोदी सरकारले गान्धी परिवारलाई दिँदै आएको यो सुरक्षा इकाई फिर्ता लिएको हो ।

पछिल्लो घटना सार्वजनिक भएपछि गान्धी परिवारको सुरक्षा प्रणाली कमजोर पारिएको भन्दै भारतमा मोदी सरकारको आलोचना भएको छ । भारतमा गान्धी परिवार निकै संवेदनसंवेदनशील मानिन्छ। गान्धी परिवारका तीनजना उच्च भारतीय नेताको हत्या भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्