काठमाडौं । बलात्कारको गम्भीर आरोप लागेपछि प्रहरीले पक्राउ गरेका कृष्णबहादुर गिरी 'सिद्धबाबा'ले आफूमाथि घोर षडयन्त्र भएको प्रतिक्रिया दिनु भएको छ ।
‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने गिरी लाई सोमबार मोरङको विराट नर्सिङ होमबाटै पक्राउ गरिएको हो ।
अस्पतालबाट प्रहरी हिरासतमा जानुअघि सिद्धबाबाले आफूमाथि गम्भिर षडयन्त्र भएको सञ्चारकर्मीसँग बताउँनु भयो ।
गिरी गत बिहीबारदेखि छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको उपचारका लागि भर्ना हुनुभएको थियो ।
महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केहिदिन अघि रवि लामिछानेद्वारा सञ्चालित कार्यक्रम 'सिधा कुरा जनतासँग'मा महिला र सिद्धबाबाको अडियो कुराकानी भन्दै भनिएको फोन संवाद पनि सार्वजनिक भएको थियो ।
सिद्धबाबाले उक्त आवाज आफ्नो नरहेको प्रष्ट पार्नुभएको छ ।
सिद्धबाबामाथि अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाई छ ।