सेयर बजारमा उछाल, नेप्स १०१ अंकले बढ्दा ४ अर्ब बढीको कारोबार

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ४ : ३२


काठमाडौं । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ। लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो।

आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ। नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ। आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको छ। सेयर बजारमा करिब दुई महिनापछि यति ठूलो मात्रामा वृद्धि भएको हो।

आइतबार अधिकांश कम्पनीले नाफा कमाएका छन्। आजको कारोबारमा दुई सय ११ कम्पनीले नाफा कमाएका छन् भने सात कम्पनीले सर्किट हानेको छन्।

पाँच कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसमा एशियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।

यस्तै इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए। ती कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लाग्यो।

उता मेगा म्युचुअल फण्ड एक २.९३, प्राइम बैंकको ऋणपत्र १.९९, कुमारी इक्विटी फण्ड १.५९, नबिल ऋणपत्र १.४९ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.०७ प्रतिशतले गुमाए।


प्रतिक्रिया दिनुहोस्