काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले विजयी भएका उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
उक्त पार्टीका प्रवक्ता सुर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको नतिजालाई आफ्ना कमी कमजोरीको समीक्षा गर्नुपर्ने सन्देशको रुपमा लिएको पनि उल्लेख गर्नुभएको छ ।
यसलाई पार्टीले मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको साझाले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने हुन्छ। नेपाल रूपान्तरणको राजनीतिक यात्रामा हामी रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।’ पार्टीको संगठन सञ्जाल बन्ने क्रममा रहेको र जनतामाझ पार्टीबारे राम्रो सम्प्रेषण हुन नसकेको उल्लेख गरिएको छ।
विज्ञप्ति
उपनिर्वाचनमा विजयी सबै उम्मेदवारहरू प्रति साझा पार्टी हार्दिक बधाई तथा जन प्रतिनिधिको रूपमा जनताका आकाङ्क्षा सम्बोधन गर्नमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छ।
साझा पार्टीले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी/कमजोरीको समीक्षा गर्नु पर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको छ। हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने हुन्छ। नेपाल रूपान्तरणको राजनीतिक यात्रामा हामी रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।
राजनीतिक पार्टीको जनतासँगको प्रत्यक्ष सम्बन्धका लागि तल्लो तहसम्मको पार्टी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुन्छ । तर साझा पार्टीको सङ्गठन सञ्जाल बन्ने क्रममा नै छ। यसको अभावमा साझा पार्टी के हो, के होइन, यसले के गर्छ, के गर्दैन भन्ने जस्ता पार्टीबारेका आधारभूत जानकारी जनता माझ राम्रोसंग सम्प्रेषण हुन सकेको छैन।
पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता-शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ । विधिको शासन भत्काइएको छ। जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ। गाउँ/टोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ।
सारा प्रतिकूलताका बाबजुद हामीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ। त्यस्तै, ‘मत’ नबदले पनि ‘मन’ बदलेर हामीप्रति आशा र भरोसा राख्ने ठुलो जमातले हाम्रो गतिविधिलाई नजिकबाट नियालिरहेको हामीले महसुस गरेका छौँ। आफ्ना गल्ती/कमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्न हामी कटिबद्ध छौँ।
त्यसका लागि हामी छिटै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लागि पर्ने छौँ। साझा पार्टीका विचार, नीति र एजेन्डा जनता समक्ष प्रस्तुत र छलफल गर्नेछौँ। जनताका आकाङ्क्षा र हामीप्रतिको अपेक्षाका बारेमा सुन्ने छौँ। साझा पार्टी नेतृत्वकर्ताहरूको खोजी गर्नुका साथै सङ्गठन विस्तार गर्नेछौँ।
नेपाली जनताको विकास, संवृद्धि र सुशासनप्रतिको उत्कट चाहनाको जगमा हामी अझ सशक्त मेहनतका साथ अविराम अघि बढ्ने प्रण गर्दै मुलुक रूपान्तरणको यो अभियानमा सक्रिय सरिक हुन, सहयोग, सद्भाव र शुभेच्छासँगै खबरदारी गर्न पनि हामी सर्वैमा हार्दिक आग्रह गर्दछौ ।
डा सूर्यराज आचार्य
प्रवक्ता साझा पार्टी
मिति : १६ मङ्सिर २०७६