कांग्रेसको नेतृत्वमा कम्युनिष्टहरुको चुनावी यात्रा

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : १२


डा.केशव देवकोटा

अजबको नेपालमा गजबका गतिबिधिहरु भैरहेका छन्। यसैक्रममा यसपटक कांग्रेसको नेतृत्वमा एमसीसीलाई चुनावी घोषणापत्र बनाएर केही कम्युनिष्ट घटकहरुले निर्वाचन लडेको दृश्य पनि नेपाली जनताले देख्नु र ब्यहोर्नुपर्ने भएको छ।

खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादीले आगामी निर्वाचनमा नेपाली कांग्रेससँग तालमेलगर्न का लागि गरेको मरिहत्यले सो कुराको संकेत गर्छ।

यो उनीहरुको उकालो भएर ओरालो यात्रा हो। आखिर उनीहरुले किन यसरी पतनको बाटो रोजेका हुन् त्योभने बुझिनसक्नु बिषय भएको छ। आफ्नो बिचार, नीति र कार्यक्रमअनुसार एक्लै चुनाव लड्न नसक्ने अवस्था छ भने चुनाव लडिरहनु पर्छ भन्ने बाध्यता पनि केही छैन।

प्रथमत चुनाव भन्ने कुरा घोषणापत्रका आधारमा लडिन्छ। चुनाव कुनै पदमा पुग्नका लागिमात्र नभएर आफ्ना नीति तथा कार्यक्रमकाबारेमा जनतालाई जानकारी दिनका लागिसमेत उपयोग गर्ने गरिन्छ।

तर यसपटक माओवादी केन्द्र र एकीकृत समाजवादीले बिचित्रको चुनावी नीति बनाएका छन्। उनीहरु नेपाली कांग्रेससँग तालमेल गरेर निर्वाचन लडनका लागि अथक प्रयत्नमा रहेको देखिएको छ।

यदि आगामी निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा चुनावी तालमेल भएको खण्डमा एकातिर उनीहरुले चुनावी घोषणापत्र आफ्नो घोषित सिद्धान्तअनुसार बनाउन सक्ने छैन भने अर्कातिर उक्त बाम पार्टीका नेता तथा कार्यकर्ताहरुले समेत नेपाली कांग्रेसलाई र कांग्रेस जनले बाम पार्टीलाई भोट दिन बाध्य हुनुपर्ने भएको छ।

बर्तमान सरकार गठनगर्दा पाँच दलीय गठबन्दन रहेपनि हाल राष्ट्रिय जनमोर्चाले एमसीसी प्रकरणका कारण गठबन्धन परित्यागगर्नुका साथै नेपाली काँग्रसको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसबाट उसले आफ्नो साख बढाउने काम गरेको स्पष्ट छ।

बाँकी रहेका चार दलमध्ये पनि जसपाले नेपाली कांग्रेससँगको चुनावी तालमेललाई खासै महत्व दिइरहेको देखिएको छैन। तर माओवादी केन्द्र र एकीकृत समाजवादीले नेपाली कांग्रेसको छाता नओढेसम्म चुनाव जित्न सकिंदैनभन्ने सोच राखेको देखिन्छ। यो वास्तवमा उनीहरुको चुनाव जित्नेभन्दा पनि आफूहरुलाई क्रमशः कांग्रेसीकरणगर्दै लाने सोच हो भन्ने स्पष्ट छ।

अन्यथा उनीहरुको खास इबि र प्रतिस्पर्धा भनेको एमालेसँग हो। तर एमालेले आफूलाई उच्च मनोबलकासाथ एक्लै निर्वाचन लड्ने घोषणा गरिसकेको छ। एमालेको खास नीति र कार्यक्रम कस्तो छ र रहन्छभन्ने अलग्गै बिषय छ। यस्तो अवस्थामा उनीहरुले नेपाली कांग्रेससँग मिलेर चुनाव लड्नुनै एमालेसँग शुरुमै पराजित हुनु र आफूले आफ्नै अवमूल्यनगर्नु हो।

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफूहरु कम्युनिष्ट भएको र नेपालको दक्षिणपन्थी शक्तिसँग चुनावी लडाई लडिरहेको अलिकतिमात्र पनि चेत भएको भए उनीहरुले यसरी नेपाली कांग्रेससँग मिलेर चुनाव लड्नका लागि मरिहत्य गर्ने थिएनन् ।

कुनैबेला जनयुद्ध हाँकेर आएको दाबी गर्ने माओवादी केन्द्र र एमालेको बृहत् संगठन गरेर आएको दाबीगर्ने एकीकृत समाजवादीले दुई पार्टीका बीचमा कार्यगत एकता गर्नुका साथै अन्य साना कम्युनिष्ट पार्टी र समूहहरुसँगमात्र चुनावी तालमेल र कार्यगत एकता गरेको भएपनि खासै फरकपर्ने कुरा केही थिएन।

माओवादी केन्द्र र एकीकृत समाजवादी दुई पार्टी मिलेर पनि चुनाव जित्न सकिंदैनभन्ने कस्तो हिनता भाव हो? नेपालका क्रान्तिकारी माओवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालगायतका कतिपय कम्युनिष्ट पार्टीहरुले चुनाव उपयोगगर्ने क्षमता हुँदाहुँदै पनि आफ्नो बैचारिक अडानका कारण संसदीय निर्वाचनमा भाग नलिने नीति बनाएका छन्।

यदि परिस्थिति मिल्दैनभने माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि चुनावमा भाग नलिंदैमा केही फरकपर्ने कुरा थिएन र छैन पनि।

नेपाली कांग्रेसको बाध्यता के देखिएको छ भने पहिलो कुरा त नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले आफ्नो पार्टी माओवादीकरणहुँदै गएको भनेर नेतृत्वको कटु आलोचना गरेका छन्।

दोश्रो कुरा नेपाली कांग्रेस आफै आगामी निर्वाचनबाट दुईतिहाइ बहुमत कासिल गरेर एकमना सरकार बनाउने सोचमा रहेको पार्टी हो ।

गत ०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेर निवार्नचनमा जाँदा पाएको मत परिणाम र संसदको निर्वाचनमा माओवादी केन्द्रले धोखा दिँदा पाएको परिणाम समेत उसका अगाडि उदाहारणका रुपमा रहेको छ।

नेपाली कांग्रेसका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो छाता ओढाएर उनीहरुको राजनीति बचाइ दिनुपर्ने कुनै आवश्यकता देखिएको छैन्। यसपटकको स्थानीय र संसदको निर्वाचनमा मुख्यरुपले नेपाली कांग्रेस र एमालेकाबीचमा सिधा टक्कर पर्ने देखिएको छ।

एमाले एक्लै उच्च मनोबलकासाथ निर्वाचनमा होमिएको बेला नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको बैशाखी टेकेर निर्वाचनमा प्रस्तुत भयो भने मतदातामा त्यसको कस्तो प्रभाव पर्ला? त्यो पनि विचारणीय बिषय हो। यस्तो अवस्थामा नेपाली कांग्रेसले आफ्नो पार्टी बनाउने कि अरुको पार्टी बचाइदिने त्यसबारे गहनरुपमा बिचार गर्नुपर्ने देखिएको छ।

माओवादी केन्द्र एक्लै चुनाव लड्न नसक्ने अवस्थामा थियो भने किन एमालेसँग अलग भएको? भन्ने प्रश्न पनि उठेको छ। त्यसैगरी एक्लै चुनावमा खडा हुन समेत नसक्ने अवस्था थियो भने किन एमाले फुटाएर एकीकृत समाजवादी बनाएको? भन्ने प्रश्नहरु पनि यत्रतत्र सुनिन थालेका छन्।

वास्तवमा निर्वाचन भन्नासाथ सबै पार्टीहरु एक्ला एक्लै उभिनु आवश्यक हुन्छ। यदि स्वच्छ र स्वतन्त्र निर्वाचन गर्ने÷गराउने हो भने यो बाहेक अर्को बिकल्प छैन्। अथवा बिचार मिल्नेहरुका बीचमासम्म कार्यगत एकता अथवा चुनावी तालमेल हुनसक्छ। जसबाट उनीहरुको खास धरातल पत्ता लाग्नुकासाथै भावि राजनीतिका लागि योजना बनाउन र अगाडि बढ्न पनि सरल र सहज हुन्छ।

बिचार, नीति र कार्यक्रमको वास्ता नगरी केवल चुनाव जितेर पदमा पुग्ने र ब्यक्तिगत लाभ हासिल गर्ने हो भने त्यस्ता पार्टी र शक्तिलाई नेपाली जनताले मतदान गर्नुको खासै अर्थ रहन्न।


प्रतिक्रिया दिनुहोस्