राजनीतिमा विद्या भट्टराईः विवाहले विश्राम, मृत्युले पुनरागमन

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ५६


प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेकी विद्या भट्टराई भारी मतान्तरसहित विजयी हुनुभएको छ । यो विजयसँगै हवाई दुर्घटनामा मृत्यु भएका तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईको राजनीतिमा पुनरागमन भएको छ ।

विद्या भट्टराई राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्मिनु भएको थियो । कलिलो उमेरदेखि नै राजनीतिमा सक्रिय विद्याले तत्कालीन अनेरास्ववियूको केन्द्रीय समितिको सचिवको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको थियो । अनेरास्ववियूको केन्द्रीय सचिवको भूमिकामा मात्रै होइन विद्याले अखिल नेपाल महिला संघ र पार्टी राजनीतिका जिम्मेवारीहरुलाई पनि कुशलतापूर्वक पूरा गरिसक्नु भएको थियो । राजनीतिक जीवनमा निरन्तर उकालो चढिरहनु भएकी विद्याले त्यसबेला राजनीतिबाट विश्राम लिनुभयो, जतिबेला तत्कालीन विद्यार्थी नेता रविन्द्र अधिकारीसँग उहाँ वैवाहिक बन्धनमा बाँधिनु भयो । २०५६ असार २६ गते नेता वामदेव गौतमलाई साक्षी राखेर विवाह बन्धनमा बाँधिएपछि भने विद्याको बाटो मोडियो, संसार खुम्चियो । सक्रिय राजनीति छोडेर प्राज्ञिक काममा लाग्ने निर्णयमा पुग्नुभयो उहाँ । नेता रविन्द्र अधिकारीलाई राजनीतिमा अघि बढाउन र उहाँलाई सहयोग गर्नकै लागि आफूले बाटो मोडेको विद्याको दावी छ ।

विद्या भट्टराई २०२९ कार्तिक २९ गते काठमाडौंमा जन्मिनु भएको हो । आफ्नो १२ वर्षको बाल्य उमेरमै अनेरास्ववियुमा आवद्ध हुनुभयो उहाँ । २०४२ सालमा काठमाडौंमा– ७ मा रहेको पशुपति मित्र माध्यमिक विद्यालय चावहिलमा अध्ययनरत रहँदा नै उहाँ अनेरास्ववियुले आयोजना गरेको विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुन्थ्यो । २०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि त्यसविरुद्ध अनेरास्ववियुले आयोजना गरेको आन्दोलनहरूमा सहभागी हुन थाल्नुका साथै विद्यार्थीहरुलाई संगठित गर्न समेत थाल्नुभयो । त्यसपछि २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आवद्ध भएर आफूलाई सक्रिय बनाउनु भयो ।

अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला समितिको कोषाध्यक्षमा निर्वाचित उहाँले काठमाडौंका विभिन्न ठाउँमा महिलाहरुलाई संगठित गर्ने काम पनि गर्नुभयो । त्यसै समयको सेरोफेरोमा जनसाँस्कृतिक परिवारको सदस्य हुँदै नेकपा (एमाले)को संगठित सदस्यसमेत बन्नुभयो । २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियतमा पोखरामा सम्पन्न ११ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित हुनुभएकी विद्या २०४८ मा १८ वर्षकै उमेरमा नेकपा (एमाले) वडा कमिटी सदस्य बन्नुभयो । २०४९ मा पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिमा उम्मेदवारी दिनुभयो । त्यसपछि २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख हुनुभयो । महिला र विद्यार्थी संगठनमा सक्रिय रहँदा नै उहाँ २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय सचिव बन्नुभयो । त्यतिबेला अनेरास्ववियुको अध्यक्ष वर्तमान पर्यटनमन्त्री योगेश भट्टराई हुनुहुन्थ्यो । २०५६ मा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र कार्यालय सचिवको जिम्मेवारी समेत सम्हाल्नु भयो ।

तत्कालीन विद्यार्थी नेता रविन्द्र अधिकारीसँग उहाँको २६ असार २०५६ मा विवाह भयो । विवाहपछि पनि २०५७ सालमा बुद्धिजीवी परिषदको सदस्य बन्नुभयो तर यही बिन्दुदेखि उहाँ पार्टी र संगठनका सक्रिय कामबाट पछाडि हट्न थाल्नुभयो । विवाह गरेर पोखरा लाग्नुभएकी विद्या भट्टराईले २०५८ देखि पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गर्न थाल्नुभयो । २०५९ सालदेखि आंशिक शिक्षकका रुपमा प्राध्यापनमा अघि बढेर प्राज्ञिक कर्ममा सक्रिय हुन थाल्नुभयो । यद्यपि, प्राध्यापनका सिलसिलामा पनि अध्ययन र अनुसन्धानका कामहरूमा सहभागी भएर उहाँले महिलाविरुद्ध हुने घरेलु हिंसा, सुरक्षित मातृत्व, महिला नेतृत्व र विकास, महिलासँग सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धि र नेपालको अवस्थाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यशालाहरूमा कार्यपत्र पेश गर्न थाल्नुभयो ।

प्राज्ञिक कर्ममा रमाइरहेकी बेला २०६२÷०६३ को जनआन्दोलनमा भने उहाँले पनि सहभागिता जनाउनु भयो । उहाँले २०६४ मा तत्कालीन नेकपा (एमाले)को संघीय मामला विभागको सदस्य भएर काम गर्नुभयो । प्राज्ञिक कर्ममै लागिरहँदा उहाँले २०६२ देखि २०६४ सम्म उच्च शिक्षा पाठ्यक्रम निर्माण समितिको सदस्य तथा २०६६ मा नेकपा (एमाले) प्राध्यापक इलाका कमिटीमा सामुदायिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष समेत बन्नुभयो । २०६७ देखि २०७० सम्म सार्कस्तरीय महिला सञ्जालमा वकालत गर्ने सामाजिक संस्था ‘बियोण्ड बेइजिङ कमिटी’मा कार्यक्रम संयोजकको रुपमा रहनुभयो । २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गरेपछि त्रिभुवन विश्वविद्यालयको खुल्ला सेवा आयोग परीक्षा उत्तीर्ण गरेर उहाँस्थायी उप–प्राध्यापक बन्न सफल हुनुभयो ।

विद्याका श्रीमान् रविन्द्र अधिकारीको पर्यटन, संकृति तथा नागरिक उड्ययन मन्त्री रहेकै बेला २०७५ फागुन १५ गते ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भयो । त्यसपछि परिस्थितिले घिसार्दै उहाँलाई फेरि राजनीतिक परिदृश्यमा उदाउन वाध्य पार्यो । सक्रिय राजनीतिबाट ओझेल पर्दै प्राज्ञिक क्षेत्रमा होमिनु भएकी विद्यालाई यही दुर्घटनाले फेरि राजनीतिमा पुनरागमन गराइदिएको छ । 

उपनिर्वाचनमा नेकपाले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गर्न भनेकोमा नेकपा कास्कीले भने उनै विद्या भट्टराईको मात्र नाम सिफारिस गर्यो । उम्मेदवार बन्ने निर्णय समेत नगरेको अवस्थामै विद्या चुनावमा होमिनुपर्ने परिस्थिति सिर्जना भयो । बाल्यकालदेखि नै राजनीतिमा होमिनु भएकी विद्या राजनीतिबाट केही समय ओझेल परेर पुनः राजनीतिमा उदाउनु भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजारभन्दा बढीको भारी मतान्तरले पराजित गर्न सफल विद्या भट्टराईका अगाडि मतदातासमक्ष गरेका वाचा÷प्रतिवद्धताहरु पूरा गर्ने अभिभारा छँदैछ । त्यसबाहेक राजनीतिका अनेकौं दाउँपेच र चुनौतीहरुलाई सामना गर्दै स्व. रविन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने अभिभारा पनि उहाँको काँधमा थपिएको छ । स्व. रविन्द्र अधिकारीसँगको विवाहले राजनीतिबाट विश्राम लिनुभएकी विद्यालाई उहाँकै मृत्युले पुनः राजनीतिको मैदानमा घिसारेरै पुराएको छ । उहाँको उज्ज्वल राजनीतिक भविष्यको शुभकामना !  
 


प्रतिक्रिया दिनुहोस्