स्टारको जीवन दर्साउने ‘द फेम गेम’

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ६ : ०५


माधुरी दीक्षितको अभिनय रहेको सिरिज ‘द फेम गेम’ प्रदर्शनरत छ। सिरिजलाई ओटीटीमा रिलिज गरिएको छ।

सन् २०१४ पश्चात अभिनयमा सक्रियता कम गरेकी माधुरीले सन् २०१९ मा टोटल धमाल र कलंकमा अभिनय गरिन्। त्यसपछि टेलिभिजन रियालिटी शोमा देखा परिरहेकी माधुरीले ओटीटीमा आफ्नो उपस्थिति देखाएकी छिन्। सिरिजमा उनले एक कलाकारको जीवनलाई देखाउने प्रयास गरेकी छिन्।

अनामिका आनन्दको भूमिका निर्वाह गरेकी माधुरीले एक सामान्य युवती हुँदै सुपरस्टारसम्मको जीवनसँगै स्टारडम बचाउन गर्ने प्रयत्नलाई जीवन्त बनाउने प्रयास गरेकी छिन्। उनले एक सुपरस्टारसँगै एक छोरी, एक पत्नी र एक आमाको भूमिकालाई व्यक्त गरेकी छिन्।

सामान्य मानिसले स्टारलाई हेरेर अनुमान गर्ने जीविकालाई यसले थप प्रस्ट्याएको छ। सामान्य घरमा हुर्किएकी अनामिका कसरी स्टार बन्छिन् रु उनले आफ्नो स्टारडम बचाउन के के गर्छिन्? यी यस्ता थुप्रै सब प्लटहरु सिरिजमा छन्।

‘मैले फिल्ममा एक स्टारको जीवनलाई देखाउने कोशिस गरेकी हुँ। स्टारको जीवन अन्यले सोझेझैँ नहुन् पनि सक्छ। यसमा स्टारले निभाउने भूमिका मात्र होइन, दायित्वलाई पनि चित्रण गरिएको छ,’ माधुरीले भनिन्।

सिरिजको प्रचारप्रसारकै क्रममा एक अन्तर्वार्तामा उनले सिरिज गर्दै गर्दा आफ्नै जस्तैको कथा लागेको बताइन्। ’मैले स्टारडम फिल गरेकी छु। यद्यपि यसले अन्य पाटोलाई पनि देखाएको छ। जसकाबारेमा मैले सोचेकी समेत थिइन्,’ उनले भनिन्।

सिरिजमा एक सुपरस्टार अचानक गायव भएपछि हुने घटनाक्रमलाई देखाइएको छ। सिरिजमा माधुरीसँगै सञ्जय कपूर, मानव कौल, सुहासिनी मुले, राजश्री देशपान्डे, लक्षवीर सरन, मुस्कान जाफेरी लगायतको अभिनय रहेको छ। माधुरीले सिरिजको कथाले नै आफुलाई आकर्षित गरेको बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्