अछामको साँफेबगरमा एक हजार ३८३ घरपरिवारलाई गरिब परिचयपत्र वितरण

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  १२ : ४३


अछाम। साँफेबगर नगरपालिकाले एक हजार ३८३ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।

नगरका १४ वटै वडाका एक हजार ३८३ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार अति गरिब ‘रातो कार्ड’ ५८३, गरिब ‘पहेंलो कार्ड’ ४३८ र सामान्य गरिब ‘निलो कार्ड’ २६२ गरी एक हजार २८३ घरधुरीका परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको हो ।

नगरमा सबैभन्दा वढी साँफेबगर नगरपालिका–१४ पातलकोटमा २०० गरिब घरधुरी र सबैभन्दा कम वडा नम्बर १ वैजनाथ र वडा नम्बर ६ भाग्यश्वरमा २५ गरिब घरधुुरी रहेका छन् ।

नगरपालिकाबाट प्रवाह गरिने विभिन्न सेवा सुविधाहरुमा गरिबीको सूचीमा परिवारहरुलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने प्रमुख कुँवरले जानकारी दिए ।

उनले गरिबीको सूचीमा रहेका परिवार भित्रका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने पनि बताए ।

सरकारले २०६८ सालमै २५ जिल्लामा गरिब घरपरिवारको विवरण संकलन सुरु गरेको थियो । परिचयपत्र पाएकाहरुले सरकारबाट पाउने सुविधा के हुने भन्ने सरकारी अधिकारीलाई नै जानकारी छैन ।

उनीहरुलाई राज्यले शिक्षा, स्वास्थ्य, आवास, खाद्यन्न, लगायतका विभिन्न सेवा सुविधामा सहुलियत र अनुदान दिने योजना त छ । तर, अहिले सम्म कस्ता सहुलियत दिने भनेर टुंगो लगाइएको छैन ।


प्रतिक्रिया दिनुहोस्