तीन महिनासम्म कर्णाली प्रदेशका मन्त्री र सचिवले कतै जान नपाउने

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : १०


काठमाडौं । कर्णाली प्रदेशका मन्त्री र सचिवहरु अबको ३ महिना कतै जान नपाउने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनमा केन्द्रीत हुन विषयगत मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ । 

आइतवार कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अबको ३ महिना कतै पनि नजान निर्देशन दिनुभएको हो ।

बजेट कार्यान्वयनका लागि अबको ३ महिना महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘अबको यो ३ महिना मन्त्री र सचिव कोही पनि बिदामा नबस्नुस, संघीय सरकारका कार्यक्रम हुन् वा गैरसरकारी निकायका कार्यक्रम । कतै नजानुस ।’

मुख्यमन्त्री शाहीले दोस्रो चौमासिकमा हरेक मन्त्रालयको प्रगति ४५ प्रतिशत अनिवार्य पुगेको हुनुपर्ने भन्दै आगामी ३ महिनाको कार्यसम्पादनको आधारमा मन्त्री र सचिवको कार्यक्षमताको मूल्यांकन हुने पनि बताउनुभयो । संसदले पास गरेको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयमा हुने अलमल, ढिलासुस्ती तथा लापरवाही कुनै पनि अर्थमा क्षम्य नहुने बताउदै मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनका क्रममा देखिएका समस्या तुरुन्तै जानकारी दिन पनि निर्देशन गर्नुभयो ।

‘बजेट कार्यान्वयनमा कहाँ समस्या आउँछ ? तुरुन्तै रिपोर्ट गर्नुस्’, मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘नीतिगत, कानुनी, तथा व्यवहारिक समस्या जे आउँछ, तुरुन्त सामाधान गरेर अगाडि बढ्नुपर्छ ।’

काम गर्न सकिँदैन भने इमान्दारिका साथ सक्दिन भन्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले आर्थिक वर्षको अन्तमा मन्त्रालयको प्रगति कमजोर देखिए त्यो भन्दा ठूलो जनताप्रतिको धोका अरु केही पनि नहुने बताउनुभयो । प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना बमोजिमका कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण प्रथम चौमासिकको प्रगति सन्तोषजनक नदेखिए पनि दोस्रो चौमासिकको प्रगति उत्साहजनक हुनुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्