काठमाडौं । ऐरावती गाउँपालिका २ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा बागी उम्मेदवार विजयी भएका छन् । लठ्ठी चिन्ह लिएका बागी उम्मेदवार भिमेशकुमार घर्तीले ८५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
विजयी भएका भिमेशकुमारका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका मोहन विकले ५०४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवारले ३३६ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीयस्तरमा उक्त वडामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नेकपाले सघाउने सहमति भएको थियो । केन्द्रीय सहमतिलाई उल्लंघन गर्दै नेकपाका इञ्चार्ज कृष्णध्वज खड्का, अध्यक्ष तुलसीराम शर्मा र सचिव प्रकाश अधिकारीले केन्द्रीय तालमेलको हाकाहाकी उल्लंघन गरेर बागी उम्मेदवार उठाउनु भएको थियो । उहाँहरुले केन्द्रीयस्तरमा भएको चुनावी तालमेल भड्ग गराउन प्रयास गरेको तर नेतृत्वले नसुनेपछि जिल्लास्तरबाटै बागी उम्मेदवारी दिइएको थियो ।