काठमाडौँ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
अहिलेसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने १ स्थानमा प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ।
हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली कांग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी हुनुभएको छ। त्यस्तै प्रदेशसभामा भने नेपाली कांग्रेसले खाता खोलेको छ।
अहिलेसम्मको मतपरिणामलाई हेर्ने हो भने कतिपय स्थानमा नेपाली कांग्रेस र नेकपाबीच सिट खोसाखोस भएको देख्न सकिन्छ।
कतिपय स्थानमा अघिल्लो निर्वाचनमा नेकपाले जितेका क्षेत्रमा कांग्रेसले जित हात पारेको छ भने कतिपय स्थानमा यसअघि कांग्रेसले जितेका क्षेत्रमा नेकपाले आफ्नो स्थान खडा गरेको छ।
यसअघि नेकपाले चुनाव चितेका वैतडी, दाङ, चितवन, सर्लाही,अर्घाखाँची, भक्तपुरलगायतका क्षेत्रमा कांग्रेसले कब्जा जमाएको छ भने यसअघि कांग्रेस निर्वाचित भएका क्षेत्र बाँके,अछाम, बाजुरा, सिन्धुपाल्चोक, सिरहा, फिदिमलगायतका क्षेत्र नेकपाले खोलेको छ।