अस्ट्रेलियाले विरोध गर्न आग्रह गर्दा चीन भन्छः रुससँगको सम्बन्ध चट्टानजस्तै मजुबत छ

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ४१


बेइजिङ। रुसले युक्रेनमा आक्रमण थालेको आज १२ दिन पुगेको छ।

यसबीचमा चीनले रुसलाई आफ्नो राम्रो साझेदार भनेको छ। सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले रुससँगको आफ्नो सम्बन्ध चट्टानजस्तै बलियो भएको बताएका हुन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले चीनले पनि युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्नुपर्ने बताएको केही घण्टापछि नै चीनले रुससँगको आफ्नो सम्बन्ध मजबुत भएको बताएको हो।

यीले चीनमा रहेको रेडक्रसको तर्फबाट आफ्नो देशले युक्रेनमा मानवीय सहायता सामग्री पठाउने पनि जानकारी दिए।

युक्रेनमाथि रुसले आक्रमण गर्दा चीनले कसैको पक्ष लिएको छैन। आज पनि विदेशमन्त्री यीले रुस र युक्रेनबीचको विवाद छलफल र कूटनीतिमार्फत् समाधान हुनुपर्नेमा जोड दिएका थिए।

यसअघि राष्ट्रसंघमा अमेरिकाले रुसको निन्दा गर्ने प्रस्ताव ल्याएको थियो। त्यसमा चीन तटस्थ बसेको थियो। कसैको पक्षमा भोट खसाएको थिएन। बीबीसी


प्रतिक्रिया दिनुहोस्