खोटाङमा नेकपा र कपिलवस्तुमा राजपा विजयी

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : २२


काठमाडौँ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी हुनुभएको छ। 

तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी हुनुभएको हो। 

मतगणनाको परिणामअनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रबहादुरले ३७४ मत पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले जानकारी दिनुभयो। तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो। 

कपिलवस्तुः शिवराज नगरपालिका–१० लालपुरमा भएको वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकी उम्मेदवार मञ्जु मिश्रले जीत हासिल गर्नुभएको छ। निर्वाचन कार्यालयका अनुसार खसेको एक हजार ७२२ मतमध्ये ८६८ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको हो। उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देव भारतीले ४६५ मत ल्याउनुभएको छ। 


प्रतिक्रिया दिनुहोस्