नेकपाका दुई प्रभावशाली नेताको वडामा कांग्रेस विजयी

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ४८


बुटवल । सत्तारुढ नेकपाका दुई प्रभावशाली नेताहरुको वडामा कांग्रेस विजयी भएको छ। 

दाङको घोराही उपमहानगरपालिका वडा नंं १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी दोब्बर मत अन्तरले विजयी हुनुभएको हो। यो वडा नेकपाका प्रभावशाली नेता द्वय संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडा हो। 

उक्त वडाको अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित हुनुभएको हो।

विजयी हुनुभएका डाँगीले एक हजार दुई सय २२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीको पक्षमा एक हजार एक सय १७ मत खसेको थियो। यो वडामा जम्मा ३ हजार दुई सय २६ मत खसेको थियो। 

गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी हुनुभएको थियो। बुढाको निधन भएपछि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७२० मत ल्याए ल्याउनुभयो भने समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गर्नुभएको छ।  यहाँ ६८ मत बदर भएको छ।


प्रतिक्रिया दिनुहोस्