काठमाडाैं । सिराहाको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट शनिबार साँझ सात जना थुनुवा फरार भएका छन् । विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना शनिबार साँझ ६ः३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ भने अन्य सात जना अझै फरार रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयाे ।
फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गर्नुका साथै सीमाक्षेत्रको जाँचमा समेत कडाइ गरिएको प्रजिअ अधिकारीको भनाई उद्धृत गर्दै राससले जनाएको छ । इलाका प्रहरी कार्यालय लक्ष्मीपुरमा कार्यरत प्रहरीमध्ये अधिकांश जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा शनिबार भएको उपनिर्वाचन र विवाहपञ्चमीका लागि जनकपुरमा खटिएकाले त्यहाँ थोरै सङ्ख्यामा प्रहरी रहेका थिए । सोही मौका छोपी थुनुवाहरु फरार भएको हुन सक्ने अनुमान गरिएको छ ।