दाङ र बागलुङमा प्रदेशसभाको मतगणना भोलिदेखि

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : ०५


काठमाडौं । आज भएको उपनिर्वाचनको परिणाम धमाधम आइरहँदा दाङ र बागलुङमा प्रदेशसभा सदस्य पदका लागि भएको निर्वाचनको मतगणना भने भोलिदेखि हुने भएको छ ।

बाग्लुङ क्षेत्र नं. २ (ख)को मतगणना आइतबार बिहान ८ बजेदेखि हुने भएको छ । मतगणनास्थल बाग्लुङ सदरमुकाममा मतपेटिका पुराउन समय लाग्ने भएकोले मतगणना भोलि बिहान मात्रै हुने भएको हो ।

बाग्लुङ २ (ख)मा पर्ने तीन पालिकाहरु ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका सदरमुकामबाट निकै टाढा भएकोले राति अबेर मात्रै मतपेटिका सदरमुकाम पुग्ने बताइएको छ ।

सो निर्वाचन क्षेत्रमा तीनवटै पालिकाका २२ वटा वडामा रहेका २४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । ३५ हजार १ सय ८१ मतदाता रहेको बाग्लुङ २ (ख) मा २१ हजार ५ सय १२ मत खसेको छ । ४३ वटा मतपेटिका संकलन गरी सदरमुकाम पुराउने काम भइरहेको छ । मतगणना जिल्ला समन्वय समितिको भवनमा बिहान ८ देखि सुरु हुनेछ ।

बाग्लुङ २ (ख) मा वाम गठबन्धनका तर्फबाट राजमोका खिमविक्रम शाही र नेपाली कांग्रेसबाट जीतबहादुर शेरचनलगायत ११ जना प्रतिष्पर्धामा छन् ।

यसैगरी दाङ ३ (ख)को मतगणना पनि भोलि हुने भएको छ । सबै मतपेटिका सदरमुकाम घोराही पुराएपछि मतगणना थालिने बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस्