भीम रावल र विप्लवबीच भेटवार्ता, एमसीसी विरुद्धको संघर्षमा जोड

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  २ : ३३


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित गरेपछि राष्ट्रवादी शक्तिहरू एक हुने बिषयमा महासचिव विप्लव र एमालेका नेता भीम रावलबीच भेटघाट र छलफल भएको हो।

फागुन १५ गते पाँचदलीय गठबन्धन सरकारले एमसीसी टेबुल गरेर पारित गराउने प्रक्रियामा लगेको समयमा एमालेका वरिष्ठ नेता भीम रावलले खुलेरै एमसीसीको विपक्षमा मत व्यक्त गरेका थिए।

रावल एमाले र माओवादी केन्द्रको गठबन्धनको तत्कालीन सरकारी नेकपाले एमसीसी अध्ययन गर्न झलनाथ खनालको अध्यक्षतामा निर्माण गरेको अध्ययन कार्यदलका सदस्य पनि हुन्।

उनले निरन्तर एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै बोलेर र लेखेर आफ्नो भिन्नमत व्यक्त गर्दै आएका छन्।

महासचिव विप्लव र नेता रावलबीच एमसीसी खारेजी र राष्ट्रिय स्वाधीनता रक्षाका विषयमा एकताबद्ध भएर सङ्घर्ष अघि बढाउन सकारात्मक छलफल भएको नेकपा उच्च स्रोतले जनाएको छ।

नेपकाका महासचिव विप्लव र एमाले नेता रावलबीच एमसीसीको खारेजीका साथै राष्ट्रिय स्वाधीनता रक्षा र मुलुकको समसामयिक राजनीतिका विषयमा महत्वपूर्ण छलफल भएको राष्ट्रियता पक्षधर शक्तिहरूका बीच ध्रुवीकरण हुनु आवश्यक रहेको निष्कर्ष निकालिएको स्रोतहरूले बताएका छन्।

विप्लवले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विभिन्न देशभक्त र राष्ट्रप्रेमी नेताहरूसँग भेटघाट बढाएका छन।

हिजो बुधबार महासचिव विप्लवले माओवादी केन्द्रका असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठ र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे रोहितसँग एमसीसीलगायत राष्ट्रिय स्वाधीनताको रक्षाको आन्दोलनलाई अघि बढाउने विषयमा छलफल गरेका थिए।


प्रतिक्रिया दिनुहोस्