हस्तकला प्रदर्शनीमा अवलोकनकर्ताको भिड

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १२ : ३२


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा अवलोकनकर्ताको भिड देखिएको छ ।

हस्तकला व्यापार मेलाको तेस्रो दिन शनिबार सम्ममा एक लाख भन्दा बढीले मेलाको अवलोकन गरेको आयोजक नेपाल हस्तकला महासङ्घले जनाएको छ ।

नेपाली हस्तकलाको बजार प्रबर्द्धन गर्ने उद्देश्य सहित आयोजित मेलामा एक सय रुपैयाँदेखि १५ लाख रुपैयाँ सम्मका हस्तकलाका सामग्रीहरु उपलब्ध छन् ।

महासङ्घका उपाध्यक्ष रबिन्द्र शाक्यले मेला अवधिभर ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र १० करोड रुपैयाँ बढीको कारोबार हुने अपेक्षा रहेको बताउनुभयो ।

मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरूको सहभागिता रहेको छ । महासङ्घका सदस्य, विभिन्न जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घका स्टलहरु पनि मेलामा छन् ।

मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र बाँसबाट बनेका सामग्रीहरुमा उपभोक्ताहरूको आकर्षण देखिएको छ ।

यसबाहेक विदेश निर्यात हुने हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनीमा राखिएको उपाध्यक्ष शाक्यले बताउनुभयो ।  

मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय वटा स्टल रहेका छन् । त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरूको २० वटा स्टल रहेका छन् । मेला मंसिर १६ गते सम्म चल्ने छ । 


प्रतिक्रिया दिनुहोस्