पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मिति नजिकिएसँगै पोखरामा खेलसँग सम्बन्धित पूर्वाधारहरु करिब करिब अन्तिम चरणमा पुगेका छन्। यहि मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने साग अन्तर्रगत पोखरामा ८ खेलको आयोजना हुने छन् । साग अन्तर्रगत काठमाडौँ, पोखरा र जनकपुरमा २८ वटा खेलहरु हुने छन् । त्यस मध्ये आठ खेलहरु पोखरामा आयोजना हुदै छन् ।
पोखरामा आयोजना हुन ८ खेल मध्येका केही खेलको लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । महिला फुटबल र क्रिकेट, ह्यान्डबल, आर्चरी र ब्याडमिन्टन खेल पोखरा रंगशालामा हुने तय भएको छ । खेल अवधि नजिकिँदै गएपनि रंगशाला अहिलेसम्म पूर्ण रुपमा तयार भैसकेको छैन ।
१० हजार सिट क्षमताको प्यारापिट जडान गर्ने लक्ष्यसहित भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले जिम्मा लिएका छन् । तर, अहिलेसम्म जम्मा ५ हजार सिट क्षमताको प्यारापिटमात्रै जडान भएको छ । ग्यालरी ए, बि, सि भागमा विभाजन गरेर अहिले प्यारापिट जडान भइरहेको स्टेडियमका प्रोजेक्ट म्यानेजर दीपक बरालले जानकारी दिनुभयो । उहाँले ४ ग्यालरीमध्ये सि ग्यालरीमात्रै जडान कार्य सकिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सि ग्यालरीको प्यारापिटमात्रै जडान कार्य सकिएको छ । यो करिब ५ हजार सिट क्षमताको हो ।’ सि ग्यालरीको प्यारापिट नेपालको झण्डासँग मेल खाने गरी रातो र निलो रङको सिट जडान गरिएको छ ।
४ वटा ग्यालरीमध्ये साग महिला फुटबलका लागि २ ग्यालरीमामात्रै प्यारापिट जडान गर्न लागिएको बरालले जानकारी दिनुभयो। त्यसमध्ये बाँकी ५ हजार सिट क्षमताको प्यारापिट सोमबारबाट जडान सुरु भएको हो । तर, उक्त प्यारापिट जडान हुन अझै ३ दिन लाग्ने प्रोेजेक्ट म्यानेजर बरालले बताउनुभयो। ‘भर्खरै सि ग्यालरी जडान सक्यौं । बाँकी प्यारापिट जोड्न अझै तीन चार दिन लाग्छ,’ उहाँले भन्नुभयो।
भिआइपी प्यारापिट जडान भइसकेको भएपनि निर्माण कम्पनीले अहिलेसम्म सिट जडान गरेको छैन । भिआइपी र भिभिआइपी प्यारापिटमा खेल सुरु हुनु अगावै सिट जडान गर्दा असुरक्षित हुने भएकाले सिट जडान नगरिएको प्रोजेक्ट म्यानेजर बरालले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘भिआइपी र भिभिआइपी प्यारापिटमा सिट जडान पछि गर्छौं । अहिले नै जडान गर्दा जो पनि जाने र फोहोर गर्ने समस्याले ढिलो जडान गरिएको हो ।’
रंगशालाको बाहिरी भागमा भएको सिन्थेटिक एथ्लेटिक ट्र्याकको काम पनि अझै सकिएको छैन । स्टेडियममा बिछ्याइएको दुबो पटकपटक फेर्नु परेकाले पनि रंगशाला निर्माण प्रभावित हुँदै आएको छ । पहिले ल्याएका दुबो भारतीय भन्सारमा रोकिएकाले पोखरा आउन करिब १ हप्ता ढिलाइ हुदा केही दुबो मरेका कारण चाँडै नसर्ने सम्भावना भएपछि थप दुबो कलकत्ताबाट मगाइएको थियो ।
हाल पहिलो र दोस्रो चरणमा ल्याएका दुबोलाई रंगशाला प्रवेशद्वारा नजिकैको खाली मैदानमा रोप्न सुरु गरिएको छ ।
प्रतियोगिताको लागि अहिले पोखरा रंगशालालाई सजाउने काम समेत तीब्ररुपमा अगाडी बढेको छ। रंगशालाको मुख्य प्रवेशद्घार देखि नै सजावटको काम अघि बढाएको राखेप सदस्य राजेश गुरुङले बताउनुभयो। ‘पोखरा रंगशालामा अहिले पुर्वाधार निमार्णसंगै रंगशालाभित्र रहेको पुर्वाधारहरुमा रंगरोगन गर्ने कार्य दुर्तरुपमा अगाडी बढेको छ’ उहाँले भन्नुभयो । ‘रंगशाला भित्र खाली जग्गालाई समेत सम्याउने देखि गार्डेन बनाउने सम्मका कामहरु अगाडी बढेका छन।’
पोखरा रंगशालालाई आकर्षक तुल्याउन रातो र निला रंगका सिट जडान गरिएको छ। सिटमा नेपालको झण्डा संग मिल्ने गरी रंगको मिलाईएको छ। साग अन्तरगतको महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेलमैदान, हेम्जामा रहेको गौरीशंकर खेलमैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदानमा हुने छ।
महिला फुटबल प्रतियोगितामा ४ राष्ट्रको सहभागीता रहने छ ।महिला फुटबलमा आयोजक नेपाल सहित भारत, माल्दिभस् र श्रीलंकाले खेलमा सहभागीता जनाउने छन् । पोखरामा हुने तय भएको महिला फुटबल मंसिर १७ गतेदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्दै छन् ।
ब्याडमिन्टन पूर्वाधार तयार, १ सय ५२ पदकमा प्रतिस्पर्धा
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ। पोखरामा हुने ब्याडमिन्टन खेलका लागि निर्माण सुरू गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो।
‘ब्याडमिन्टनका लागि हल बनाउने काम सकिएको छ, अब केही सामान्य काम मात्र बाँकी छ ,’ कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिहं गुरुङले भन्नुभयो। खेलाडीका लागि चाहिने सम्पूर्ण पूर्वाधार निर्माण भएको उहाँले जानकारी दिनुभयो । ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्म–अपलगायत ४ ओटा कोर्ट रहेको छ ।
प्रतियोगिताका लागि भने तीनवटा कोर्ट मात्र प्रयोग गरिनेछ । ब्याडमिन्टन हल निर्माणका लागि करिब साढे ४ करोड रुपैयाँ खर्च लागेको उहाँले जानकारी दिनुभयो। ब्याडमिन्टनका लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुनेछन्, जसमा पुरुष १० र महिला १० खेलाडी रहेका छन् । विदेशीसहित पाँच जना प्रशिक्षक रहनेछन् । भारतबाट भने ब्याडमिन्टनमा लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागिता जनाउनेछन् ।
त्यस्तै, पाकिस्तानबाट खेलाडी तथा प्रशिक्षक गरी १३ जनाको सहभागिता रहनेछ । जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहनेछन् । बंगलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउनेछ । जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ४ प्रशिक्षकको सहभागिता रहनेछ ।
श्रीलंकाबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछ । जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहनेछन् । भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितामा सहभागी हुँदैछ । जसमा ४ पुरुष, २ महिला खेलाडी तथा एक प्रशिक्षकले सहभागिता जनाउने भएका छन् ।
माल्दिभसबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागिता जनाउनेछन् । जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुनेछन् ।
यस्तो छ खेल तालिका
पोखरामा हुने ब्याडमिन्टन १५ मंसिदेखि २० मंसिरसम्म संचालन हुनेछ । टिम इभेन्टतर्फ १५ मंसिरमा महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन् । १६ मंसिरमा सेमिफाइनल तथा फाइनल खेल हुनेछन् ।
इन्भिभिजूअल इभेन्टतर्फ १७ मंसिरमा महिला एकल तथा डबल, पुरुष एकल तथा डब्बल र मिक्स डब्बलतर्फका प्रारम्भिक खेल हुनेछन् । १८ मंसिरमा महिला तथा पुरुष सिंगल र डब्बल्सको क्वार्टरफाइनल खेल हुनेछ । १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुनेछन् । २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद शर्माले जानकारी दिनुभएको छ।
पोखरामा १ सय ५२ पदक
१५ मंसिरदेखि हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा प्रतिस्पर्धा हुने ८ खेलमा कुल १ सय ५२ वटा पदकका लागि खेलाडीहरू प्रतिस्पर्धा गर्दैछन् ।
पोखराबाहेक काठमाडौं र जनकपुर गरी संचालन हुने २८ खेलका लागि कुल १ हजार १ सय ११ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
१३औं सागको ८ खेलमध्ये आर्चरीमा ३०, ब्याडमिन्टनमा २८, महिला क्रिकेटमा ४, महिला फुटबलमा ३, ह्याण्डबलमा ६, ट्रायथलनमा १५, विच भलिबलमा ६, भारोत्तोलनमा ६० गरी कूल १ सय ५२ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी, आर्चरीमा १० स्वर्ण, १० रजत र १० कास्य गरी ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ । ब्याटमिन्टनमा ७ स्वर्ण, ७ रजत र १४ कास्य, महिला क्रिकेटमा १ स्वर्ण, १ रजत र २ कास्य, ह्याण्डबलमा २ स्वर्ण २ रजत र २ कास्य, ट्रायथलनमा ५ स्वर्ण ५ रजत र ५ कास्य, महिला विच भलिबलमा २ स्वर्ण २ रजत र २ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । भारत्तोलनमा समान २० स्वर्ण २० रजत र २० कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।
बहुप्रतीक्षित साग विभिन्न खेलका ८ सय २४ जना खेलाडी तथा अफिसियलहरू पोखरा आएका छन् । त्यसैगरी, करिब ४ सय ९१ जना प्राविधिक र अफिसियल पोखरा आएका छन्।
यस्ता खेल हुने छन्
साग अन्तर्गत पोखरामा विभिन्न ८ खेलहरु सम्पन्न हुने छन् । जस अन्तरगत महिला पुरुष तर्फको ह्याण्डवल, आर्चरी, बिच भलिवल, भारतोलन, व्याडमिन्टन, ट्याथलन, महिला फुटवल र महिला क्रिकेट रहेका छन् । अन्तिम समयमा आएर सार्क मुलुकमै प्याराग्लाईडिङ प्रतियोगितामा प्रतिशपर्धा गर्ने देशको संख्या नपुगेपछि खेल स्थगित हुन पुगेको छ । प्याराग्लाइडिङबाट नेपालले स्वर्णपदकको आश गरेको खेल हो । प्याराग्लाईडिङ प्रतियोगिता स्थगन भएपछि नेपालको पदको सपना तुहिएको हो ।
७ सय २२ खेलाडी सहभागी हुने
१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पोखरामा हुने आठ खेलका लागि ७ सय २२ जना पुरुष र महिला खेलाडीको सहभागीता हुने भएको छन् ।साग अन्तर्गत पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्राइयाथोलन, व्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको संख्या बढि रहेको छ ।
आठ खेलको लागि ४ सय १ महिला खेलाडीको सहभागीता रहेने छ । यसैगरी पुरुष खेलाडीको संख्या ३ सय २१ जना मात्र रहेको १३ औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए ।
उनका अनुसार पोखरामा आयोजना हुने सागखेलमा नेपालका तर्फबाट ५२ पुरुष, १०२ महिला र अफिसियल २६ जना खेलाडिको सहभागिता रहने छ।
यस्तै भारतबाट ५ खेलको लागि १ सय ७२ जना खेलाडि तथा अफिसियलको सहभागीता रहने छ । जसमध्ये ४१ जना पुरुष, ६१ जना महिला खेलाडि र २५ जना अफसियल खेलाडि रहने छन् । भारतले आर्चरी र महिला क्रिकेटमा सहभागीता जनाएको छैन ।
माल्दिभसबाट ५ खेलमा १ सय ३६ खेलाडि र अफियलहरुको सहभागीता रहने छ । जसमध्ये पुरुष ४१, महिला ६१ र ३४ अफिसियलको सहभागीता रहने छ ।माल्दिभसले आर्चरी, भारोत्तोलन र ट्राइयाथोलनमा मात्र सहभागीता जनाउने भएको छ ।
त्यस्तै बंगलादेशबाट ६ खेलको लागि खेलाडि तथा अफिसियल गरि १ सय ५० जनाको सहभागीता रहने छ । जसमा पुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल रहने छन् । बंगलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।
पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी र अफिसियलेको सहभागीता रहने छ । त्यस मध्ये पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जनाको सहभागीता रहने छ। पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राईयाथोलनमा सहभागीता जनाएको छैन ।
यस्तै श्रीलंकाले आठ खेलमा १ सय ७५ जना खेलाडी र अफिसियलको सहभागीता रहने छ । जसमध्ये पुरुष खेलाडी ६१, महिला खेलाडि ८१ र अफिसियल ३३ जनाको सहभागीता रहने छ ।
भुटानबाट चार खेलको लागि मात्र खेलाडि र अफिसियल गरी ४२ जनाको सहभागीता रहने छ । जसमध्ये पुरुष २९, महिला ६ र अफिसियल ७ जना रहने छन् । प्रतियोगितामा सबैभन्दा कम सहभागीता भुटानको रहेको छ । भुटानले ह्याण्डबल,महिला फुटबल, विच भलिबल र ट्राईयाथोलनमा सहभागीता जनाएको छैन ।
सुरक्षा ब्यवस्था कडा
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सागलाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था कडा परिने बताएका छन्। १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था कडा पार्न लागिएको उहाँले बताउनुभयो । ‘हामिले आन्तरिक रुपमा सुरक्षा नीति बनाएका छौँ’ उहाँले भन्नुभयो ।‘प्रदेश सरकराले खेलाडीहरुको सुरक्षालाई मध्यनगर गरी सुरक्षा व्यवस्था थप चुस्त पार्ने छौँ।’
सागको बेला सुरक्षको क्षेत्रमा कुनैपनि किसिमको कमिकमजोरी हुन नदिने कानुन मन्त्री चुमानले बताउनुभयो। मन्त्री चुमानले गण्डकी प्रदेश सरकारले साग र कास्की २ को उपनिर्वाचनको लागि सुरक्षा समन्वय समिति मार्फत सुरक्षा रणनीती बनाएको बताउनुभयो।
उहाँले पोखरामा अन्तराष्ट्रिय प्रतियोगिता पहिलो पटक हुन लागेको बताउदैँ पोखराको मुख्य बजार र पर्यटकीय क्षेत्रलाई समेत रंगाउन आवश्यक रहेको धारणा राखे ।
सागको प्रचारप्रसारको अभाब खड्कियो
१३ औं दक्षिण एसियाली खेलकुद (साग) शुरु हुन एक दिन मात्र बाँकी छ । खेल सुरु हुने दिन नजिकिएपनि रंगशाला तयार भइसकेको छैन । पुनर्निर्माणको काम तीव्र अगाडी बढेको छ ।
पोखरामा पहिलो पटक साग हुन लागेको सागमा प्रचारप्रसार शसक्त र प्रभावकारी हुन सकेको छ्रैन् । प्रचार प्रसार समितिका संयोजक केशव पाठकले भने साग गेमको प्रचार प्रसाद भैरहेको बताउनुहुन्छ। ‘हामीलाई उपलब्ध स्रोत साधनले भ्याउने जति प्रचार प्रसार गरेका छौं’ उहाँले भन्नुभयो। ‘जे जति सामाग्री उपलब्ध छन, हामीसँग जे स्रोत साधन र क्षमता छ, त्यही अनुसार काम गरिरहेका छौं ।’
तर, प्रचार समितिमै रहेका सदस्यहरुले भने साग खेलको प्रचार प्रसार प्रति असन्तुष्टि प्रकट गर्न थालिसकेका छन् । ‘यति ठूलो खेलकुद आयोजना गर्दा जम्मा २ लाख बजेको ब्यवस्था गरिएको छ, के प्रचार गर्ने ?’ भन्दै सदस्यहरु नै अचम्म प्रकट गर्द छन् ।
पोखराका मिडियामा समाचार बाहेक प्रचारप्रसार सामाग्री अत्यन्त कम छ। बजेट कम भएका कारणले पत्रपत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन गर्न नसकेको समितिका सहसंयोजक रञ्जन अधिकारीले बताउनुभयो।
‘अरु समितिमा बजेट आएको छ, छैन थाहा भएन तर प्रचार समितिमा २ लाख भन्दा बजेट पाएका छैनौं’ उहाँले भन्नुभयो। ‘हामीले माग गरेको १ करोड ४ लाख प्राप्त भएको भए सम्पूर्ण मिडियामा प्रचार प्रसार सामाग्री निरन्तर आउने थियो । हरेक सवारीमा स्टिकर, ठाउँ ठाउँमा होर्डिङ बोर्ड बनाउने थियौं।’ एउटा क्लबले कार्यक्रम गर्दा प्रचार प्रसारमा ५ लाख छुट्याउँने गरेको तर नेपाल सरकारले आयोजना गरेको सागमा भने न्यून बजेट छुट्टार्ईएको सहसंयोजक अधिकारीले बताउनुभयो।
’अन्तराष्ट्रिय खेलकुदमा प्रचार गर्न जम्मा २ लाख आएको छ’– अधिकारीले भन्नुभयो – ‘हामीलाई प्रचार प्रसारको काम गर्न अत्यन्त गाह्रो छ।’ पोखराका कुनै पनि पत्रिका, रेडियो, अनलाइन, टेलिभिजनका लागि प्रचार सामाग्री उपलब्ध नगराएको भन्दै मिडिया पनि असन्तुष्ट छन् ।