माओवादी केन्द्रको प्रदेश अध्यक्षमा हरिराम चौधरी विजयी

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ०७


धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन्।

प्रदेश अध्यक्षका लागि सोमबार भएको मतदानमा राष्ट्रिय सभा सदस्य समेत रहेका उत्सवले अर्का उम्मेदवार-प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री) मानबहादुर धामीलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

उत्सवले एक सय १४ मत पाएर विजयी हुँदा अर्को उम्मेदवार धामी ९४ मत मात्रै पाएका थिए। प्रदेश उपाध्यक्षमा मानसिंह माल, रणबहादुर कुँवर र अक्कलबहादुर रावल विजयी भएका छन्। प्रदेश उपाध्यक्षका लागि सात जनाले उम्मेदवारी दिएका थिए।

माओवादीको प्रदेश सचिवमा अमरसिंह चौधरीलाई पराजित गर्दै जनकबहादुर बुढा विजयी भएका छन् भने सह–सचिवमा रामबाहुर देवकर, नन्दबहादुर साउद र अजिता श्रेष्ठ विजयी भएका छन्। सह(सचिवमा पाँच जनाले उम्मेदवारी दिएका थिए। माओवादी केन्द्रको प्रदेश कोषाध्यक्षमा बिनिता विकलाई पराजित गर्दै कमलकुमार शाह विजयी भएका छन्।

गत पुसमा भएको प्रदेश सम्मेलनले प्रदेश सदस्यहरूको चयन गरेको थियो। प्रदेश सदस्यहरू मध्येबाट नै पदाधिकारी चयन गरिने भए पनि सहमति हुन नसक्दा निर्वाचन भएको हो। प्रदेश समितिमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, तीन जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ।

 


प्रतिक्रिया दिनुहोस्