बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ का मतदान केन्द्रमा आज बिहान ७ बजेदखि मतदान शुरु भएको छ। ४५ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताउनुभयो ।
प्रदेशसभा सदस्यको निर्वाचन हुने क्षेत्रमा ४३ र वडाध्यक्षको निर्वाचन हुने बडिगाड–२ मा दुई मतदान केन्द्र छन् । उत्साहपूर्वकरुपमा मतदाता मतदानमा सहभागी भएको ढोरपाटन नगरपालिका–३ स्थित घोसाखानी आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत खिम विकले बताउनुभयो ।
प्रदेशसभा सदस्यका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने क्षेत्रमा ३५ हजार १८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।