एमसीसी अनुमोदन गरेको विरोधमा ३ पार्टीको कार्यालयमा तोडफोड र आगजनी

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ८ : १९


काठमाडौं । सुर्खेतमा नेकपा एमाले सहित माओवादी केन्द्र र नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ।

एमसीसी सम्झौता पास गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित ३ पार्टीको कार्यालयमा तोडफोड र आगजनी भएको हो।

एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ सहित ८ दलले गरेको बन्दको दिन सुर्खेतमा आगजनी र तोडफोड भएको जनाइएको छ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन्।

त्यस्तै उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन्।

प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ। प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ।

सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए।

एमसीसी विरुद्धको प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्