युक्रेन संकटका बेला चिनियाँ भन्छन्ः ताइवान चीनमा विलय गराउने सही मौका यही हो

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : ५१


काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण थालेको आज सोमबार पाँच दिन भइसकेको छ।

यसबीचमा आफ्नो जवाफी कारवाहीमा हालसम्म ५ हजार ३ सय रुसी सेना मारिएको युक्रेनले सोमबार जानकारी दिएको छ।

युक्रेनको रक्षा मन्त्रालयले फेसबुकमा दिएको जानकारी अनुसार आजसम्म ५ हजार ३ सय रुसी सेना मारिनुका साथै उनीहरुका १९१ ट्यांक, २९ लडाकु विमान, २९ हेलिकप्टर, ८१६ सवारी ध्वस्त बनाइएका छन्।

मन्त्रालयले रुसी आक्रमणमा भने हालसम्म १४ बालबालिकासहित ३५२ युक्रेनी नागरिकको मृत्यु भएको बताएको छ।

सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।

युक्रेन अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटोमा आवद्ध हुन खोजेपछि रुस क्रुद्ध भएको हो। रुसले अमेरिका लगायत अन्य युरोपेली राष्ट्रलाई युक्रेनलाई नेटोमा आवद्ध नगराउन आग्रह गरेको थियो।

तर अमेरिकाले रुसी मागको अस्वीकार गरेको थियो। यस्तोमा युक्रेन सरकारविरुद्ध विद्रोह गर्दै आएका त्यहाँका दुई क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्दै रुसी सेना पूर्वी युक्रेन घुसेको थियो।

यी दुई क्षेत्रका विद्रोहीलाई रुसले नै सहयोग गर्दै आएको थियो। युक्रेनले विरोध गर्न थालेपछि रुसले आक्रमण थालेको हो।

युक्रेन संकटका बेला ताइवान बहस
रुसबाट छुट्टिएको युक्रेनजस्तै ताइवान पनि चीनबाट अलग्गिएको क्षेत्र हो।

वास्तवमा ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।

तर पछिल्ला वर्षहरुमा चीनले ताइवानमा आक्रामक व्यवहार बढाएको छ। बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ।

चिनियाँ युद्धक विमानहरु दोहोरिँदै यस टापुमा घुस्ने गरेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ।

चीनले भने ताइवानका अलगवावादीबाट खतरा भएकाले आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुने भनिसकेको छ।

यसबीचमा चीनले दाबी गर्ने प्रान्तीय क्षेत्र ताइवानले पनि रुसको विरोध जनाएको छ। रुसले युक्रेनमा आक्रमण गरिरहेको अवस्थामा ताइवानले रुसी आक्रमणको निन्दा गरेको हो।

अमेरिका, युरोपेली संघ र अन्य समान विचारधारा भएका देशसँग आफू खडा भएको ताइवानले बताएको छ। उनीहरुले झै आफूले पनि रुसमा प्रतिबन्ध लगाउने ताइवनको भनाइ छ।

अमेरिकाले युक्रेनमा रुसविरुद्ध सेना नपठाउने बताइसकेको छ। यद्यपी अमेरिकाले रूसविरूद्ध आर्थिक प्रतिबन्धहरु भने घोषणा गरेको छ। उता चीनले रुसमाथि कुनै प्रतिबन्ध लगाएको छैन र छलफलबाटै समस्या टाल्न रुस र युक्रेनलाई आग्रह गरेको छ।

चिनियाँ ताइवान फिर्ता गरौं भन्छन्
अमेरिका र पश्चिमा राष्ट्रको समर्थन पाउन युक्रेनले रुसको विरोध गरेजस्तै अमेरिकाको समर्थन प्राप्त ताइवानले पनि चीनको विरोध गरिरहेको छ।

यसबीचमा रुसले युक्रेनमा आक्रमण गरेपछि हालै चीनले पनि ताइवनमा आक्रमण गर्नसक्छ भन्ने चर्चा चलिरहेको छ।

यदि चीनले ताइवानमाथि आक्रमण गर्यो भने अमेरिकाले कस्तो कदम चाल्छ भनेर पनि यतिबेला चर्चा भइरहेको छ।

चिनियाँ सामाजिक संजाल विबोमा युक्रेन संकट र ताइवानको विषयमा चासोका साथ बहस भइरहेको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार विबोमा अधिकाँश चिनियाँ नागरिकहरुले रुसको पक्ष लिएका छन् र पुटिनलाई महान नेता भनेका छन्।

उनीहरुले रुसले युक्रेनमा आक्रमण गर्नुलाई जायज ठहर्याउँदै ताइवानलाई चीनमा विलय गराउने अहिले उपयुक्त समय आएको पनि बताइरहेका छन्। एजेन्सीको सहयोगमा

यो पनिः

-नेटो–युक्रेन र रुस संकटबारे बुझ्नै पर्ने पाँच मुख्य कुराहरु…

-युरोपकै सबैभन्दा कमजोर राष्ट्रपति ठहरिए हाँस्य कलाकार जेलेन्स्की!

-‘अमेरिकाले युक्रेनमा सेना पठाए तेस्रो विश्व युद्ध सुरु हुनेछ’


प्रतिक्रिया दिनुहोस्