झुक्ने पक्षमा छैन युक्रेन, रुसी सेनासँग भिड्न कैदीहरु रिहा गर्दै

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : १०


किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संघसँग पुनः एकपटक आफूलाई ईयूको सदस्य बनाउन माग गरेको छ।

रुसी आक्रमण रोक्ने उपाय स्वरुप युक्रेन सरकारले बारम्बार ईयूसँग सदस्यताको माग गरिरहेको हो।

जेलेन्स्कीले भनेका छन्,‘सबै युरोपेली नागरिकसँग मिलेर बस्ने हाम्रो लक्ष्य छ। विशेषगरी हामी समानतामा बस्न रुचाउँछौं। मलाई विश्वास छ कि यो सम्भव छ।’

जेलेन्स्कीले एक भिडिओ सन्देशमा रुसी सेनालाई हतियार छाड्न र स्वदेश फर्कन पनि आग्रह गरेका छन्। उनी भन्छन्,‘आफ्नो हतियार त्याग। कमाण्डरको भरोसा नगर। जीवन बचाऊ।’

यसबीचमा जेलेन्स्कीले एक अप्रत्याशित निर्णय पनि लिएका छन्। उनले देशमा रहेका कैदी जोसँग हतियार चलाउने र युद्धको अनुभव छ उनीहरुलाई रिहा गर्ने घोषणा गरेका हुन्।

ती व्यक्तिहरुले रुसी सेनासँग लड्ने बताइएको छ। यस विषयमा राष्ट्रपति जेलेन्स्की भन्छन्,‘हामीले एक यस्तो फैसला गरेका छौं जो नैतिक हिसाबले सजिलो नभए पनि हाम्रो सुरक्षाको दृष्टिकोणबाट सहयोगी हुनेछ।’ बीबीसी


प्रतिक्रिया दिनुहोस्