रुससँग वार्ताको लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुसमा, तयार छ वार्तास्थल

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १ : २१


बेलारुस। रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका जनाइएको छ।

समाचार संस्था स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेको जानकारी दिएको हो।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको गत बिहीबार बिहान घोषणा गर्नुभएको थियो।

टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नुभएको थियो।

रुसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन्।

यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म युक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ। पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा यूक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ।

यसैबीच बेलारुसले रुस र युक्रेनका प्रतिनिधिले छलफल गर्ने स्थान तयार भएको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्