नेपाल जीवनमा आधारित क्यान्भास हो : सञ्चारमन्त्री बाँस्कोटा

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : ०६


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल ‘जीवनमा आधारित क्यान्भास’ भएको बताउनुभएको छ । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र प्रकृतिको अनुपम सङ्गम रहेको मुलुकको जुनसुकै ठाउँमा पनि जीवन परिवर्तनका प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

चलचित्र छायाङ्कनका लागि गन्तव्यस्थल समेटिएको ‘फिल्मिङ ईन नेपाल’ नामक पुस्तकको आज काठमाडौँमा लोकार्पण गर्दै मन्त्री बाँस्कोटाले आफ्नो जमीन र आकाशको सीमाभन्दा बाहिर पनि मुलुकको सुन्दरता, संस्कृति, कला, साहित्य र जीवनपद्दति लैजानुपर्नेमा जोड दिनुभयो । “जसबाट दुनियाँले हाम्रा कुरा सिक्न सकोस्, तब मात्रै हाम्रो जीवन बलियो हुन्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

सरकारको नीति तथा कार्यक्रममा ‘छायाङ्कनका लागि गन्तव्य नेपाल’ भनेर समावेश गरिसकेको र भ्रमण वर्ष २०२० नजिकिएकाले पनि पुस्तक सहयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

चलचित्र छायाङ्कन स्टुडियोका लागि काभ्रेमा २४ रोपनी जग्गा सरकारले उपलब्ध गराएको स्मरण गर्दै यसले चलचित्र क्षेत्रमा नयाँ आयाम थपिने उहाँले विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रलेसमेत लमजुङगमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्न लागेकोमा खुशी व्यक्त गर्दै उहाँले सरकारले मात्रै नसक्ने भएकाले नीजि चलचित्र क्षेत्रमा लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गर्नुभयो ।

उहाँले सार्वजनिक भएको ‘छायाङ्कनका लागि नेपाल’ नामक पुस्तकलाई नेपालमा मात्र नभई हरेक राजदूतावास र विदेशमा रहेका कूटनीतिक नियोगमा पु¥याएर प्रचारप्रसार गर्नु जरुरी रहेको औँल्याउनुभयो । 

मन्त्री बाँस्कोटाले भ्रमण वर्ष २०२०ले नेपाललाई चिनाउने आशा व्यक्त गर्दै  नेपालाई विश्वमा बुझ्ने बनाउन चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । कार्यक्रममा मन्त्री बाँस्कोटाले चलचित्रकर्मीको सुझाव समेटेर चलचित्रसम्बन्धी कानुन संशोधनका लागि मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिनुभयो । 

मुलुकले राजनीतिक क्षेत्रमा ठूलो फड्को मारेपनि सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।

उहाँको उपस्थितिमा आजै चलचित्र विकास बोर्ड र ब्रिटिस काउन्सिल नेपालबीच  ऐतिहासिक नेपाली चलचित्रको सङ्ग्रहलगायत विभिन्न परियोजना सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र काउन्सिलका देशीय निर्देशक यौवान ईलिचले हस्ताक्षर गर्नुभएको थियो । सम्झौताले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्