भरतपुर विमानस्थलको विस्तार प्रक्रिया अघि बढ्यो

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  २ : ४५


चितवन ।  भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अघि बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले आज स्थलगत निरीक्षण र सरोकारवालाहरुसँग छलफल गरसँगै काम अघि बढाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विमानस्थल विस्तारका लागि मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गर्नुभएको थियो । 

रात्रिकालीन अवतरणसँगै अन्य शहरमा समेत उडान भर्ने गरी भरतपुर विमानस्थल विस्तारको काम शुरु हुन लागेको हो । देशकै मध्यभागमा रहेको भरतपुर विमानस्थलमा दिनप्रतिदिन यात्रुको चाप बढ्दै गएको छ ।
 
 मन्त्रालयले गठन गरेको प्राविधिक टोलीसहितको समितिले आज भरतपुर महानगरपालिकामा सरोकारवालाहरुसँग छलफल गरेको छ । महानगरपालिकाले विमानस्थल विस्तारका लागि विशेष पहल गर्दै आएको छ । छलफलमा महानगरपालिका प्रमुख रेनु दाहालले विमानस्थलको विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्न आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार रहेको बताउनुभयो । 

कार्यक्रममा उहाँले भरतपुर विमानस्थलमा रात्रिकालीन सेवा सञ्चालन गर्ने महानगरको योजना रहेको र सोहीबमोजिम काम अगाडि बढाउनसमेत आग्रह गर्नुभएको थियो । दाहालले सेनाको गण दियालो बङ्गला र घोडा फार्मका लागि र गणेशस्थानदेखि पूर्वको क्षेत्रमा प्रस्ताव गरेर काम अगाडि बढाइएको जानकारी दिनुभयो । 

समितिका संयोजक मन्त्रालयका सहसचिव लामिछानेले विमानस्थल विस्तारको प्राविधिक अध्ययनको काम अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले प्राविधिक पक्ष छिट्टै पूरा गरेर काम थाल्ने बताउनुभयो । निर्माणका क्रममा आइपर्ने व्यावधानहरूको व्यवस्थापनमा भरतपुर महानगरको संयोजन चाहिने उहाँको भनाइ थियो । 

 कार्यक्रममा मन्त्रालयका सहसचिव रूद्रसिंह तामाङ, हवाई उड्डयन प्राधिकरणका इञ्जिनीयर हिमज्योति थापा, शैलेन्द्र शाक्य, नेपाली सेनाका महासेनानी लीलाबहादुर खनाल, सेनानी विनितराज रेग्मी, भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनीयर रत्नप्रसाद लामिछाने, भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।

 हाल धावन मार्ग एक हजार २०० मिटर लामो रहेको छ । सेनाको गण र घोडा फार्म स्थानान्तरण गरी धावनमार्ग विस्तार गर्दा एक हजार ६०० मिटर लामो बनाउन सकिने छ । यससँगै ७२ सिट क्षमताका जहाज उडान र अवतरण सहजै गर्न सकिनेछ । मन्त्री भट्टराईले भरतपुर विमानस्थल विस्तारसँगै बाहिरी जिल्लाका जहाज उडान र अवतरण यहाँ गरेर काठमाडौँ विमानस्थलको चाप घटाउनुपर्ने जनाउँदै आउनुभएको छ । हाल जहाजको धावनमार्ग छोटो र अवतरण एवं उडान गर्ने ठाउँहरुमा मापदण्ड विपरीत संरचना निर्माण भएकाले यहाँको उडान जोखिमपूर्ण बन्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्