नयाँ दिल्ली । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा उहाँहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उहाँहरूले दुई पक्षीय हित, साझा चासो र आपसी सम्वन्ध थप मजबुत बनाउने बारेमा छलफल गर्नुभएको जनाइएको छ ।
उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै श्रीलङ्काका राष्ट्रपति राजापाक्ष बिहीबार नयाँ दिल्ली आइपुग्नुभएको हो ।
राष्ट्रपतिमा निर्वाचित हुने वित्तिकै उहाँलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।
भेटवार्ता अघि राष्ट्रपति राजापक्षेले महात्मा गान्धीको स्मृतिस्थल राजघाटमा पुगेर उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अवतरण भएपछि सञ्चार माध्यमलाई दिएको पहिलो प्रतिक्रियामा उहाँले भारत र श्रीलङ्काले सँगसगै काम गर्न आवश्यक रहेको बताउनु भएको थियो ।
आर्थिक विकास र जनताको सुरक्षाका लागि नयाँ दिल्ली र कोलम्बोबीचमा सहकार्यको आवश्यकता रहेको उहाँको भनाई छ ।
“श्रीलङ्काको राष्ट्रपति भएपछिको यो मेरो पहिलो विदेश भ्रमण हो, भारतका राष्ट्रपति र प्रधानमन्त्रीप्रति म आभारी छु,” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “मेरो अपेक्षा धेरै छ, राष्ट्रपतिको मेरो कार्यकालमा भारत र श्रीलङ्काको सम्वन्धलाई धेरै माथि उठाउन चाहन्छु ।”
श्रीलङ्काली राष्ट्रपति राजापाक्षले भारत र श्रीलङ्काको सम्बन्ध ऐतिहासिक, धेरै पुरानो, सांस्कृतिक र राजनीतिक रहेको उल्लेख गर्नुभयो ।
उहाँले शुक्रबार नै विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको थियो ।