पल शाह तनहुँ प्रहरीलाई बयान दिँदै, गैंडाकोटमा पर्यो फेरि अर्को उजुरी

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ४७


काठमाडौं । मोडल पल शाह हाल तनहुँ प्रहरीको नियन्त्रणमा छन्। बलात्कारको आरोप लागेपछि उनलाई पक्राउ गर्ने प्रहरीले वारेन्ट जारी गरेको थियो।

तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका पलले अहिले प्रहरी समक्ष बयान दिइरहेका छन्।

यसैबीच, पल विरुद्ध फेरि बलात्कार गरेको अर्को उजुरी परेको छ।

शाहविरूद्ध पीडित गायिकाले नवलपुर प्रहरीमा अर्को उजुरी दिएकी छन्। पीडितले दिएको उजुरी गैंडाकोट इलाका प्रहरी कार्यालयमा दर्ता गरिएको छ।

शाहले पीडित गायिकालाई गैंडाकोटको एक रिसोर्टमा सुटिङको क्रममा बलात्कार गरेको आरोप उजुरीमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए।

पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताए।

पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ।

“किशोरीको जाहेरीपछि हामीले घटनास्थलको काम सकाएर आजै उहाँको मेडिकलको काम गर्ने तयारी गरिरहेका छौँ”, गिरीले भने, “भरतपुरमा लगेर उजुरीकर्ताको मेडिकल गर्छौँ, त्यसपछि मात्रै उजुरी दर्ता गर्ने वा नगर्ने भन्ने एकिन हुन्छ।”

गैँडाकोटमा आज उजुरी दिएकी गायिकाले गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उजुरी दिएकी थिइन्। गायिकाको उजुरीपछि प्रहरीको फरार सूचिमा रहेका नायक शाह आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका छन्।


प्रतिक्रिया दिनुहोस्