काठमाडौं । नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन विमानस्थल बन्द हुने भएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो । कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो ।
धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन्। धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्किङस्थल फराकिलो बनाइने बताइएको छ । ठेकेदार कम्पनीले रातको समयमा काम गर्दै आएको थियो ।
विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्र गरिने छ । गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्र उपयुक्त नभएको र स्थानीयवासीले आफूहरुलाई अप्ठ्यारो भएको गुनासो गरेपछि हवाई सेवा रोकेर काम गर्न लागिएको हो ।
प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरेको छ । गत वर्षकै कार्यक्रमको निरन्तरताअन्तर्गत धावनमार्ग ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो । झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको थिएन ।