बहर र राँगो बिनै १५ सयबढी गाई र भैँसीमा गर्भ रह्याे

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : ३६


काठमाडौं । नश्ल सुधार गरिएका गाईभैँसीले दूध बढी दिने भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पशुपालक किसान कृतिम गर्भाधानप्रति आकर्र्षित भएका छन् । चालु आवको तीन महिनाको अवधिमै १८४ गाईभैँसीमा कृतिम गर्भाधान गरिएको छ ।

नगरपालिकाको पशु विकास शाखाका अधिकृत नारायणदत्त भट्टका अनुसार साउन, भदौ र असोज महिनामा गरी गाई ११४ र ७० वटा भैंसीमा कृतिम गर्भाधान गरिएको छ । गत आवमा भने गाई एक हजार ५० र भैँसी ५०० मा कृतिम गर्भाधान गरिएको थियो । कृतिम गर्भाधान गरिएका गाईमा ६० देखि ७० प्रतिशत र भैँसीमा ४० देखि ४५ प्रतिशतसम्म गर्भ रहने गरेको अध्ययनले देखाएको अधिकृत भट्टको भनाइ रहेको छ ।

“कृतिम गर्भाधान गराउने कार्य तीव्र रुपमा हुन थालेपछि दूधको उत्पादनमा समेत वार्षिक रुपमा छ दशमलब ५ प्रतिशतका दरले वृद्धि हुँदै गएको छ” भेटेरेनरी अधिकृत रामप्रसाद भट्टले भन्नुभयो । गाईमा कृतिम गर्भाधान गराउँदा जर्सी, होलेस्टिन र भैँसीमा मुर्राको सिमेन राख्ने गरिएको छ । स्थानीय जातका गाईभैँसीको नश्ल सुधार गरी दुग्ध उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्य पशु विकास शाखाको रहेको छ । उन्नत नश्लका गाईभैँसी उत्पादन हुन थालेपछि व्यावसायिक रुपमा गाईभैँसीका फर्म खोल्नेहरुको सङ्ख्याप्रति वर्ष बढ्दो रुपमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्